नवलपरासी — गएको २१ घन्टादेखि अवरुद्ध रहेको दाउन्ने सडक एकतर्फी खुलेको छ । राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु शुक्रबार दिउँसो सवा २ बजेबाट एकतर्फी बाटो खुलेसँगै गन्तव्यतर्फ जान पाएका छन् ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत चाँडो गराउन र राजमार्ग खुलाउन बिहान ५ बजेदेखि आफैँ दाउन्नेमा खटिएको र भर्खरै एकतर्फी भए पनि गाडी गुड्न थालेको जानकारी दिए ।
बिहीबार परेको सामान्य वर्षाले दाउन्ने खण्ड हिलाम्मे हुँदा बेलुका ५ बजेदेखि यो खण्ड अवरुद्ध बनेको थियो ।
दाउन्नेमा जाम कम होस् भनेर प्रहरीले ३८ किलोमिटर वरै रजहर, प्रगतिनगर, कावासोतीमा ट्रक र लामा गाडीहरू रोकिदिएको थियो ।
बुटवल-नारायणगढ सडक खण्डको जङ्गल क्षेत्रमा गाडी रोकिएका कारण यात्रुले पानी समेत खान पाएका थिएनन् ।
राजमार्गमा गाडी चालकले अस्वस्थ प्रतिस्पर्धाका साथ गाडी गुडाउँदा राजमार्गमा दोहोरो-तेहेरो जाम परिरहेको यात्रुको गुनासो छ ।
