डोटी — सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कार्यालयको ४५ कोठाको चारतले भवनमा अचेल खासै चहलपहल देखिन्न । कार्यालयका प्रशासन (क) र (ख) गरी मात्र दुई कोठामा दैनिक कामकाज हुने गरेको छ ।
निर्देशनालयमा कुल ४२ जनाको दरबन्दी रहे पनि नियमित कामकाजमा आउने ४ कार्यालय सहयोगीसहित पाँच जना मात्रै रहेको बताउँदै नायब सुब्बा अम्मर भण्डारी भन्छन्, ‘यो फिल्ड कार्यालय भएकाले यहाँ सबै कर्मचारी बस्दैनन् । कोही सरहरू धनगढी नै बस्नुहुन्छ त कोही फिल्डमै बस्नुहुन्छ ।’
नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताएअनुसार कार्यालय प्रमुख कर्मचारीलाई तलब खुवाउन र कुनै कार्यक्रम भए मात्रै आउने गर्छन् । ‘पहिले क्षेत्रीय कार्यालयहरू यही राजपुरमा थिए र भरिभराउ हुन्थे । तर संघीयता लागू भएपछि प्रदेशको स्थायी संरचना र सम्पूर्ण कार्यालय धनगढी सरे । त्यसपछि राजपुर सुनसान भएको छ,’ ती कर्मचारीले भने ।
स्थानीय व्यापारी स्मृति भट्टका अनुसार यहाँका सम्पूर्ण कार्यालय तराईका महेन्द्रनगर र कैलाली सारेपछि यहाँ सुनसान भएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीका नियमित निर्देशक खगेन्द्र बमले आफू फिल्डमा हिँडिरहनुपर्ने भएकाले डोटीमा वर्षभर नै बस्न नसकेको बताए । ‘कार्यक्रमकै लागि फिल्डमा जानुपर्छ । हामीले सुदूपश्चिमका नौवटै जिल्ला हेर्नुपर्छ । हामीले फिल्डमा काम गर्ने हो । त्यसैले कर्मचारीहरू दैनिक उपस्थित हुन सक्दैनन्,’ उनले थपे, ‘एकैचोटि ३/४ वटा कार्यक्रम पर्छन् । अहिले म स्वास्थ्य शिविरका लागि धनगढी आएको छु । यतैबाट मन्त्रालयका कामकाज भ्याउँछु । अहिले बजेटको कार्यक्रम चलेको छ, त्यसैले मैले कार्यालयमा समय दिन पाएको छैन ।’ कार्यालयमै महिनाभरि बसेर काम नहुने बमले बताए । आफू डोटीमा गत जेठमा मात्रै आएको र आएदेखि धेरै काम गरेको उनको दाबी छ ।
‘पहिले निर्देशनालयको सम्पर्क कार्यालय धनगढीमा राखिएको थियो, अहिले छैन । हामी सिधै मन्त्रालयमा गएर काम गर्ने गर्छौं,’ उनले भने । प्रदेशको सदरमुकाम कैलाली भएका कारणले आफू दैनिक कामकाजका लागि निर्देशनालयमा उपस्थित हुन नसक्ने उनले तर्क गरे । ‘कुनै कर्मचारीहरू सीमा नाकामा छन्, कुनै कर्मचारीहरू आफूलाई पायक पर्ने जिल्लामा हुनुहुन्छ,’ उनले भने, ‘अझै पनि निर्देशनालयमा कर्मचारीहरू अपुग छन् । म पनि कार्यालयको कामकाजका लागि कैलाली आएको हुँ ।’
