महाधिवेशनबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति बैठक आह्वान

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

RSVP central committee meeting called to decide on the convention

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय महाधिवेशनलगायतका विषयमा निर्णय लिनका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबारबाट जारी सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो । 

रास्वपाले २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । त्यसपछि सभापति रवि लामिछाने चैत २२ मा पक्राउ परेका थिए । सभापति पक्राउ परेको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने सचिवालय बैठक बसिरहेको छ । 

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकको टुंगो लागेको छ । 'बदलिँदो परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएकोले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको छ,' झाले जानकारी दिएका छन् ।

रास्वपाको सचिवालय बैठक बिहीबार पनि निरन्तर चल्ने र केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल हुने उनले जानकारी दिए ।  

कान्तिपुर

Link copied successfully