ज्ञानेन्द्र शाहलक्षित थापाको प्रश्न : निर्मल निवासमा बस्दा त यस्तो, नारायणहिटीमा भएको भए के गर्थे ?

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Gyanendra Shahlakshit Thapa's question: What would you do if you were living in Nirmal Niwas, if you were in Narayanhiti?

काठमाडौँ — कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने बताएका छन् । शाहलाई कसैले पनि राजा बनाउन नसक्ने थापाले बताए ।

चैत १५ मा काठमाडौंको तीनकुनेमा पूर्वराजा शाहको निर्देशनमा दुर्गा प्रसाईं र नवराज सुवेदीले उत्पात मच्चाएको थापाको भनाइ थियो ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले ज्ञानेन्द्र शाह राजा बन्न योग्य नरहेको बताएका हुन् । लामो संघर्ष र अनुभवपछि कांग्रेस संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनको जिकिर छ ।

‘नेपालको राजालाई धोएर जति सफा गर्‍यौं भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन,' उनले भने, 'नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो ।'

निर्मल निवासमा बस्दाखेरि नै पूर्वराजाले उत्पात मच्चाएको थापाको भनाइ थियो । 'कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, अस्तिसम्म किताब लेखेर राजालाई गाली गर्ने हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदीलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाइएको छ । नारायणहिटीमा भएको भए के गर्थे होलान् ?,’ थापाले भने । 

जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले जिकिर गरे ।

कान्तिपुर

Link copied successfully