पूर्वराजा ज्ञानेन्द्र तिमी चुप लागेर बस, त्यसैमा भलाइ छ : सिटौला 

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Former king Gyanendra, keep quiet, there is goodness in that: Sitaula

काठमाडौँ — राष्ट्रिय सभामा सत्तापक्षका नेतासमेत रहेका कृष्णप्रसाद सिटौलाले पूर्वराजालाई चुप लागेर बस्न भनेका छन् । जनताको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पन पनि कांग्रेस सांसद सिटौलाले चुनौती दिएका छन् । 

काठमाडौंमा बिहीबार आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन सिटौलाले व्यवस्थाविरोधी गतिविधिमा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका हुन् । 

व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्नमा पूर्व राजा शाहको भलाइ रहेको सिटौलाको भनाइ थियो । ‘आज देशभरका युवाहरूलाई साची राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ । (चुप लागेर बस्न) मन छैन भने आऊ राजनीति गर्न,' सिटौलाले भने, 'राजनीतिमा  स्वागत छ । साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिऊन् जनतामा, आँट छ ?'

भारतमा ब्रिटिस साम्राज्य अन्त्य भएसँगै त्यहाँका राजाहरू राजनीतिमा आएको उल्लेख गर्दै ज्ञानेन्द्र शाहले पनि त्यसो गर्न पाउने सिटौलाको भनाइ थियो । 

उद्योगी र व्यापारी ज्ञानेन्द्र शाहले आँट भए आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने सिटौलाको भनाइ थियो । देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न शाह अगाडि आउनुपर्ने सिटौलाको भनाइ थियो । नेपालमा राजतन्त्र दन्त्यकथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो हुने सिटौलाले बताए ।  

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्ती सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको सिटौलाले बताए । व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरूले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्नुपर्ने उनको आग्रह थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully