अछाम — अछामको पुरानो जयगढ बजारमा मंगलबार साँझ करिब ७ बजे ग्यास सिलिन्डरबाट सल्केको आगोले भीषण रूप लियो । २३ वटा घर र ती घरमा सञ्चालित ३५ वटा पसल पूर्णरूपमा जलेर नष्ट भए ।
यो बजार बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत हो । स्थानीय व्यापारी पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रबाट आगलागी सुरु भएको थियो । ‘भौतिक पूर्वाधारबाहेक करिब ८ करोड बराबरको धनमाल क्षति भएको अनुमान छ,’ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले भने, ‘पुरानो भौतिक संरचना, साँघुरो बाटो, घनाबस्तीका कारण समयमै आगो नियन्त्रणमा लिन सकिएन । मंगलसेन नगरपालिकाको दमकल, सेना, प्रहरी र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा आयो ।’ आगलागीबाट विस्थापित परिवारलाई तत्काल उद्धार र राहत गाउँपालिकाले उपलब्ध गराइसकेको उनले बताए ।
जयगढको बीचबजारमा रहेको निर्मला रावलको पक्की घर डोजर लगाएर भत्काएपछि अन्य क्षेत्रमा आगो फैलिनबाट जोगिएको थियो । घरमा आगो लाग्न थालेपछि डोजरले भत्काएको उनले बताइन् । ‘श्रीमान्ले दुःख गरेर किनेको घर छिनभरमै खरानी भयो । श्रीमान्को १० वर्ष अगाडि हृदयघातले निधन भयो,’ उनले भनिन्, ‘गाउँपालिकामा कार्यालय सहयोगीको जागिरले छोराछोरी पढाइरहेकी छु । बस्ने घर पनि रहेन । घरभित्रको सामान पनि जोगाउन सकिएन ।’
जयगढ बजारमै मदिरा, किराना र फेन्सी तीन वटा छुट्टाछुट्टै व्यवसाय गरिरहेकी सोनम रावलको पनि घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ । ‘भएभरको जायजेथा सबै खरानी भयो । उठिबास नै लाग्यो । व्यापारकै भरोसामा छोराछोरी पढाइरहेका थियौं । हिजोबाट सडकमा आएर बस्नुपर्यो,’ उनले भनिन्, ‘२२ वर्षदेखि व्यापार गर्दै आएका थियौं । २२ वर्षसम्मको पसिनाको कमाइ सबै सकियो । एकसरो लुगा पनि बचेन । श्रीमान् बिरामी छन् । महिनाको १० हजारको औषधि किन्नुपर्छ । अब केही उपाय नै रहेन ।’
जयगढमै फेन्सी पसल सञ्चालन गरिरहेका ३३ वर्षीय भूपेन्द्र रावलको पसल पनि मंगलबार साँझको आगलागीबाट नष्ट भयो । १० वर्ष भारतका विभिन्न सहरमा गरेको कमाइले उनले व्यवसाय सञ्चालन गरेका थिए । २ लाख ऋण निकालेर व्यवसाय सुरु गरेका रावलको व्यापार करिब ५० लाख बराबरको भइसकेको थियो । ‘स्थानीय बजारमा भारतबाट आएकाहरू नै बढी आउँछन् । चैते दसैंमा भारतबाट आएका धेरैले किनमेल पनि गरेका थिए । त्यही बेलाको ५ लाख भारु जम्मा गरेर राखेको थिएँ । भारतीय रुपैयाँ बैंकले लिँदैन । भारत जानेहरूसँग नेपाली रुपैयाँसँग साट्नलाई राखेको थिएँ । त्यो पनि खरानी भयो,’ उनले भने ।
फेन्सी पसल नै सञ्चालन गरिरहेकी राधिका रावलको पनि घरसहितको पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । १० वर्षदेखि जयगढमा व्यवसाय गर्दै आएकी उनको घरसहित १० तोला सुन, नगद र पसलको सबै सामान जलेर नष्ट भएको छ । ‘नयाँ वर्ष र गर्मीको सिजन सुरु भएकाले बिहान मात्रै साढे ६ लाख बराबरको सामान पुगेको थियो । आएको सामान मिलाउन नपाउँदै साँझ सबै जलेर खरानी भयो,’ उनले भनिने, ‘भएभरका सबै एकै पटक जलेर खरानी भयो । निन्द्रा, भोक सबै लुटियो । अब के गर्ने, कहाँ जाने केही उपाय पनि रहेन ।’
आगलागीबाट पीडितलाई तत्काल राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ५० लाख उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागीपीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । घटनास्थलको अनुगमनका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आर्थिक मामिला तथा कानुनमन्त्री हिरा सार्की अछाम आउने भएका छन् ।
