चिनियाँ उत्पादनलाई ५४, कम्बोडियालाई ४९, भियतनामलाई ४६, श्रीलंकालाई ४४, बंगलादेशलाई ३७, इन्डोनेसियालाई ३२, पाकिस्तानलाई २९ र भारतलाई २६ प्रतिशत भन्सार शुल्क लगाइएको छ भने नेपालका लागि १० प्रतिशत भन्सार तोकिएको छ
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ सय ८५ देशका वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्व अर्थतन्त्र तरंगित बनिरहेका बेला नेपालले भने तुलनात्मक लाभ पाउन सक्ने देखिएको छ । छिमेकी मुलुक भारत, बंगलादेश, चीनलगायतको तुलनामा नेपाललाई कम भन्सार शुल्क लगाइएकाले लाभ लिने अवसर आएको अन्तर्राष्ट्रिय व्यापारका जानकारहरूले बताएका छन् । तर, यसका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारलाई उनीहरूको सुझाव छ ।
श्रीलंका, भारत, चीन, बंगलादेशलगायतले जुन–जुन वस्तु अमेरिकामा निर्यात गरिरहेका छन्, परिमाणमा थोरै भए पनि तिनै वस्तु नेपालले निर्यात गरिरहेको छ । अब अमेरिका निर्यात गर्दा ती देशका वस्तुमा धेरै भन्सार शुल्क लाग्ने छ भने नेपालका लागि १० प्रतिशत मात्र भन्सार शुल्क तोकिएको छ । ‘भारत, चीन, बंगलादेश, कम्बोडियालगायत मुलुकका लागि अमेरिकाले बढी भन्सार शुल्क लगाउँदा नेपाली वस्तुलाई प्रतिस्पर्धा गर्न सजिलो हुन्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको भनाइ छ ।
ट्रम्प प्रशासनले चिनियाँ उत्पादनमा ५४, कम्बोडियाको उत्पादनमा ४९, श्रीलंकाको उत्पादनमा ४४, बंगलादेशको उत्पादनमा ३७ प्रतिशत भन्सार तोकेको छ । यस्तै, इन्डोनेसियालाई ३२, भियतनामलाई ४६, पाकिस्तानलाई २९ र भारतलाई २६ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।
अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार पोषराज पाण्डे भन्सार दर फरक हुँदा नेपालका लागि बजार पहुँच सजिलो हुने बताउँछन् । ‘यसले अप्रत्यक्ष रूपमा स्वदेशी वस्तुलाई प्रतिस्पर्धी बनाउँछ । तर निर्यात बढाउन उत्पादन क्षमता अभिवृद्धि गर्नुपर्छ,’ भन्छन्, ‘त्यसका लागि लगानी विस्तार गर्न सक्नुपर्छ । यसको भविष्य अमेरिकाले तय गर्ने नीतिमा पनि निर्भर रहन्छ । हामीले निर्यात बढायौं भने अमेरिकाले भन्सार दर पुनः बढाउन सक्छ ।’
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि अमेरिका पर्छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरको उत्पादन अमेरिका निर्यात गरिएको थियो । त्यो वर्ष ६ अर्ब ३८ करोड रुपैयाँको कार्पेट, २ अर्ब ७६ करोडको छुर्पी र करिब २ अर्बको तयारी पोसाक अमेरिका निर्यात गरिएको हो । चालु आर्थिक वर्षको फागुनसम्ममा ११ अर्ब ३७ करोड बराबरको निर्यात भएको छ ।
हाल अमेरिकाले नेपालका लागि ७७ वस्तुमा शून्य भन्सार शुल्क तोकेको छ । व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण गर्न वैशाख २०६८ मै नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीसम्बन्धी बृहत् सम्झौता (टिफा) भएको थियो । २०७२ को भूकम्पपछि नेपाललाई अमेरिकाले ‘हार्मोनाइज्ड ट्यारिफ सेड्युल’ अन्तर्गत ७७ वस्तुमा भन्साररहित सुविधा दिएको हो । यस्तो सुविधा हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तुमा छ । तर अमेरिकामा यी वस्तुको निर्यात बढ्न सकेको छैन । भन्सार शून्य रहेका ७७ वस्तुतर्फ ५ वर्षमा २ अर्ब ९६ करोडको निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।
पूर्ववाणिज्य सहसचिव रवि सैंजुका अनुसार ७७ वस्तुतर्फ सन् २०१८ मा ७८ करोड रुपैयाँको निर्यात भएको थियो । सन् २०१९ मा ५२ करोड र सन् २०२० मा ३१ करोड रुपैयाँको मात्र निर्यात भयो । यस्तै, सन् २०२१ मा ६४ करोड र सन् २०२२ मा ७१ करोड निर्यात भयो । ‘सुविधा पाएका वस्तुको निर्यात व्यापक हुनुपर्ने थियो तर गुणस्तरीय उत्पादन बढाउन सकेनौं, सुविधाको फाइदा लिन सकेनौं । अब यी वस्तुमा पनि भन्सार लाग्छ,’ सैंजुले भने ।
अमेरिकाले दिएको सुविधा साना तथा मझौला उद्यमीले गर्ने उत्पादनमा हो । तर सानो परिमाणमा उत्पादन गर्दा गुणस्तरमा पनि प्रश्न उठ्ने सम्भावना रहेकाले निर्यात बढ्न नसकेको पूर्वसहसचिव सैंजुको भनाइ छ । ‘भन्सार शुल्कमा देखिएको भिन्नताले पनि अवसर ल्याएको छ । गुणस्तरीय उत्पादन बढाउन सके सम्भावना धेरै छ,’ उनले भने, ‘सरकार र निजी क्षेत्र मिलेर उत्पादन र निर्यातको वातावरण बनाउन जरुरी छ ।’
७७ वस्तुबाहेकका नेपाली उत्पादनमा भने अमेरिकाले भन्सार शुल्क लिने गरेको थियो । तयारी पोसाक संघका अनुसार यसअघि तयारी पोसाकतर्फ कटन लुगामा १८ प्रतिशत, पोलिस्टरका लुगामा २५ प्रतिशतसम्म भन्सार शुल्क थियो । यी वस्तुमा पनि अब १० प्रतिशत नै भन्सार शुल्क कायम हुने हो वा साविककै दरमा तिर्नुपर्ने हो भन्ने प्रस्ट भइसकेको छैन । संघका अनुसार नेपालबाट वार्षिक ७ अर्बको तयारी पोसाक निर्यात हुन्छ, जसमा अमेरिका निर्यातको हिस्सा ३७ प्रतिशत छ ।
नेपालले निर्यात गर्ने अधिकांश उत्पादनको कच्चा पदार्थका लागि छिमेकी मुलुकमा निर्भर रहनुपर्ने अवस्था छ । ‘सरकारले कच्चा पदार्थ आयातमा केही सुविधा दिन सके अमेरिकातर्फ निर्यात बढाउन सकिन्छ,’ पूर्वसहसचिव सैंजुले भने, ‘तर अमेरिकाको नीति स्पष्ट छैन । अमेरिकासँग छलफल गर्न बंगलादेशले अग्रसरता लिइसकेको छ ।’
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले अमेरिकातर्फ निर्यातको अवसर सदुपयोग गर्ने गरी सरकारी नीति परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । ‘नेपालले प्रतिस्पर्धा गर्ने मुलुकहरूबीच भन्सार शुल्क धेरै फरक छ । यसले निर्यातको प्रचुर सम्भावना देखाउँछ,’ उनले भने, ‘सरकारले निर्यात क्षेत्रको मनोबल उत्साहित गर्ने गरी नीति ल्याउनुपर्छ । कच्चा पदार्थ आयातमा सुविधा, कर्जामा सरलीकरणको व्यवस्था, पूर्वाधारमा सहयोग हुनुपर्छ ।’
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालका लागि राम्रो अवसर आएको बताए । ‘हाम्रो उत्पादनमा बंगलादेश, कम्बोडिया, भारत र चीनसँग प्रतिस्पर्धा हुन्छ । ट्रम्पले उच्च भन्सार शुल्क लगाउँदा हामीलाई केही फाइदा नै छ,’ उनले भने, ‘यो नीति स्थिर भए नेपालको निर्यातलाई फाइदा नै गर्छ ।’ तयारी पोसाक संघका महासचिव भीमकुमार गिरीले अन्य देशको वस्तुमा उच्च भन्सार शुल्क लागेपछि नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न सहज हुने बताए । ‘भन्सारका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु २७ प्रतिशतसम्म महँगो हुने गरेको थियो । अमेरिकाले अरू देशका लागि शुल्क बढाएपछि नेपाली व्यवसायीले धेरै फाइदा लिन सक्छन् । अब निर्यात बढ्नेमा आशावादी छौं,’ उनले भने, ‘तर ६० मुलुकले शुल्क घटाउन लबिइङ गरिरहेका छन् । नेपाल सरकारले पनि मार्केटिङ गरिदिनुपर्यो ।’
अर्थविद् केशव आचार्यले अमेरिकी लगानीकर्ता ल्याएर उत्पादन र निर्यात बढाउन सकिने बताए । ‘संयुक्त लगानी गर्न सकिन्छ, यसले विदेशी मुद्रा पनि आर्जन हुन्छ,’ उनले भने, ‘अमेरिकाकै लगानीकर्ता भए गुणस्तरको मापदण्डदेखि अमेरिकालाई चाहिने वस्तु सजिलै उत्पादन गर्न सकिन्छ ।’
अमेरिकाको पछिल्लो निर्णयका कारण भारत, बंगलादेश, चीनलगायत मुलुकबाट लगानीकर्ता नेपालमा आएर तयारी पोसाक, कार्पेटलगायत निर्यातजन्य वस्तु उत्पादन गर्ने सम्भावना पनि रहेको अर्थविद् केशव आचार्यले बताए । ‘प्रतिबद्धताअनुसार प्रत्यक्ष विदेशी लगानी भित्र्याउन हामी चुकिरहेका छौं, अमेरिकी सरकारको निर्णय नेपालमा विदेशी लगानी बढाउने राम्रो अवसर पनि हुन सक्छ,’ उनले भने, ‘यसका लागि सरकार, निजी क्षेत्र सबैको पहलमा जतिसक्दो धेरै विदेशी लगानी भित्र्याउन व्यापक रूपमा नीतिगत सुधार, कर छुटलगायत कार्यक्रम चाहिन्छ ।’
कम भन्सारका कारण तुलनात्मक लाभ रहे पनि विगतमा अधिकांश वस्तुमा शून्य भन्सार हुँदा नेपालले निर्यात बढाउन नसकेको तीतो यथार्थ छ । यस्तो अवस्थामा विदेशी वस्तु नेपाल आएर थुप्रिने (डम्प) जोखिम पनि रहेको जानकारहरू बताउँछन् । ‘अमेरिकामा भन्सार शुल्क महँगो हुँदा चीन, भारत बंगलादेशलगायत देशले उता नबिकेको वस्तु नेपालमा डम्प गर्नर्र् सक्ने जोखिम रहन्छ,’ अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार पोषराज पाण्डेले भने, ‘यस्तो अवस्था आउन नदिन थप लगानी विस्तार गरी आन्तरिक उत्पादन बढाएर निर्यात क्षमता अभिवृद्धि गर्नुपर्छ ।’ अब पनि आफ्नो उत्पादन क्षमता नबढाएर अरू देशकै उत्पादनमा निर्भर रहिरह्यौं भने झन्–झन् परनिर्भरता बढ्ने उनको भनाइ छ ।
