वायु प्रदुषणको असर घरपालुवा र सडक जनावरले पनि भोग्दै
काठमाडौँ — हरेक साँझ पुतलीसडबाट जर्मन भाषा कक्षा सिकेर थापाथली, नर्भिक अस्पताल भएर शंखमूलतिर जाने बेलामा स्नेहा भट्टराईले ८ देखि १२ वटा सडक कुकुर देख्छिन् । तिनैका लागि भनेर उनको झोलामा केही प्याकेट विस्कुट बोकेकी हुन्छिन् । सधैं देखिरहने ती कुकुर शुक्रबार फरक अवस्थामा थिए । उनले सुनाइन, 'अरु दिनझैं ती कुकुर दौडिएर मतिर आएनन् ।'
उनले आफूलाई मनपर्ने कुकुर निकै आक्रोशित अवस्थामा देखिएको बताउँदै भनिन्, 'उसलाई खोकी लागिरहेको थियो, हाच्छिउँ गरिरहेको थियो, र बिस्कुट खान मानेन । उसलाई सास फेर्न गाह्रो भइरहेकोजस्तो देखिन्थ्यो ।'
आफैं मास्क लगाइरहेकी भट्टराईले त्यतिबेला सोचिन्– 'यो प्रदुषणकै असर हुनुपर्छ ।' पछि विशेषज्ञहरूले पुष्टि गरे अनुसार, उनको अनुमान सही देखियो ।
पछिल्लो एक सातायता काठमाडौंको आकाश बाक्लो तुँवालोले भरिएको छ । वायु गुणस्तर मापन गर्ने स्विस संस्था आईक्युएयरका अनुसार, काठमाडौं संसारकै सबैभन्दा प्रदुषित सहरमध्ये दैनिक अग्रस्थानमा देखिँदै आएको छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा असर परिरहेका रिपोर्ट सार्वजनिक भइरहेका छन् । आँखा रातो हुने, घाँटी दुख्ने, छालामा एलर्जी, टाउको दुख्ने जस्ता समस्या देखिन थालेका छन् ।
के त्यसो भए स्नेहाले अनुमान गरेजस्तै वायु प्रदुषणको असर घरपालुवा र सडक जनावरहरूले पनि भोगिरहेका छन् त ? 'सधैं मलाई देख्दा रमाउने कुकुरहरू सुस्त देखिए', भट्टराईले भनिन्, 'केहीको आँखा रातो थियो भने उनीहरुले खान मन पनि गरिरहेका थिएनन् । उनीहरू थकित देखिन्थे, जसरी प्रदुषणमा बाहिर लामो समय हिँड्दा म महसुस गर्छु ।'
पशु सेवा कार्यालय ललितपुरका पशु चिकित्सक डा. नितेश कार्कीले हालैका दिनमा जनावरहरूको स्वास्थ्य समस्या बढिरहेको बताउँदै त्यसको कारण प्रदुषण भएको बताए । उनले भने, 'अहिले नै प्रदुषणका कारण धेरै जीव–जनावर बिरामी परेका केसहरु त आएका छैनन, तर वायु प्रदुषण खराब भइरहे यस्ता केसहरु बढ्ने निश्चित छ ।' उनले गत वर्ष पनि वायु प्रदुषण बढेका बेला जनावहरु बिरामी पर्ने दर बढेको अनुभव सुनाए ।
उनका अनुसार विद्यमान प्रदुषणले कुकुरमा विभिन्न समस्या निम्त्याउन सक्छ । जस्तो– भाइरल संक्रमण, सास फेर्ने समस्या, आँखाको संक्रमण, पाचन गडबडी, ज्वरो, छालाको समस्या, अंकुशे जुकाजस्ता परजीवी संक्रमण आदि । उनले भने, 'हामी धेरैजसो मान्छेमा के असर पर्छ भनेर सोच्छौं तर जलवायु परिवर्तन र प्रदुषणको असर जनावरमा पनि समान रुपमा परिरहेको छ ।'
शंखमूल निवासी समिर राईले वायु प्रदुषणको असर आफ्नो कुकुर सामीमा प्रत्यक्ष रुपमा परेको बताए । 'बिहीबार बिहान सामीलाई हिँडाउन लगेँ । हावा अरुदिन भन्दा फरक महसुस भयो । त्यही बेलुकी सामी बारम्बार हाच्छिउँ गर्न थाल्यो,' उनले भने, 'अर्को बिहान ज्वरो आयो ।'
पशु स्वास्थ्य कार्यलयहरुमा आउने ८० प्रतिशत समस्या घरपालुवा कुकुरसँग सम्बन्धित हुने देखिन्छ । सडक कुकुर भने प्रायः उद्धारपछि पशु सेवाका निम्ति सञ्चालित गैरनाफामूलक संस्थामा पुर्याइन्छ । कार्कीले सुनाए, 'हामीकहाँ आउने अधिकांश केस घरपालुवा भएकाले सडक कुकुरमा यसको असरबारे तथ्याकंगत रुपमा ठ्याक्कै भन्न गाह्रो छ ।'
स्ट्रिट डग केयरकी सदस्य सृजना श्रेष्ठले सडक कुकुरमा खोकी, सास फेर्न गाह्रो हुने, आँखामा संक्रमणजस्ता समस्या देखिएको जानकारी आइरहेको बताइन् । उनले सडक जनावर प्रतिकुल वातावरणमा अभ्यस्त भए पनि अहिलेको विषालु हावाको स्तर उनीहरूका लागि पनि अस्वस्थकर छ । भ्वाइस अफ एनिमल नेपालका पशु प्रविधिक राजन केसीले सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा रातो हुने, थुक धेरै आउने जस्ता समस्या कुकुरमा देखिएको बताए ।
मार्च २०२४ मा गरिएको एक प्रारम्भिक अध्ययनले काठमाडौं उपत्यकाका सडक कुकुरमा फोक्सोसम्बन्धी रोग देखिएको थियो । प्रदुषित हावामा लामो समयसम्म बसेका कारण धुवाँ, धुलो, वा कार्बनको कणहरू सासमार्फत फोक्सोमा प्रवेश गर्दा उनीहरुको फोक्सो कालो देखिने समस्या फेला परेको थियो । ७६ वटा कुकुरको परीक्षण गर्दा छिटो छिटो सास फेर्ने, सास फेर्न गाह्रो हुने, हाच्छिउँ, ज्वरो, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिएका थिए ।
