सीता दर्जी : शौचालय भत्कियो, औषधि खर्च रोकियो

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले उनको बचत हिनामिना गरेपछि सीतालाई आर्थिक भार थपिएको हो

चैत्र २७, २०८१

सन्जु पौडेल

Sita Darzi: The toilet broke down, medicine expenses stopped

लुम्बिनी — बुटवल–नारायणगढ खण्ड बिस्तारका क्रममा सडक फराकिलो पार्ने कामले धेरैलाई हौस्याएको छ । फराकिलो राजमार्गले शहरको स्वरुप बदलिने र छरितो यात्रा हुने आशा धेरैको छ । तर बुटवल–१०, कि ५१ वर्षीया सीता दर्जीलाई यो खबरले कुनै खुशी दिएको छैन् ।

 किनकी यही सडक विस्तारका क्रममा बुटवलको राजमार्ग चौराहाको पूर्वपट्टि रहेको सार्वजनिक शौचलय भत्कियो । यो त्यही शौचालय थियो, जसको सरसफाइ र रेखदेखबाट प्राप्त हुने पैसाबाट उनले गर्जो चलेको थियो ।

राजमार्ग विस्तारका क्रममा शौचालय भत्किएसँगै सीताको आम्दानीको स्रोत गुमेको छ । तर यही कुराले उनलाई हरेक दिन झस्काइरहन्छ । मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, पत्थरीको रोग बोकेकी सीताले भनिन, ‘बेला बेला त हैन कि जस्तो लाग्छ । अनि सकी–नसकी आफूले काम गरेको ठाउँ हेर्न पुग्छु ।’

यो शौचालय छउन्जेल बर्षौसम्म सीताको एउटा बेग्लै दैनिकी थियो । उनी विहान चार बजे नै उठेर आधा घन्टाको पैदलयात्रापछि शौचालय पुग्थिन् । बुटवल र आसपासबाट लामो तथा छोटो दूरीकालागि यात्रुबाहक गाडी छुटनु पूर्व शौचालय सफा गर्थिन । करिब २२ वर्षदेखि उनले यही काम गरेर औषधिमुलो र घरखर्च जुटाउँदै आएकी थिइन् ।

‘शौचालय भत्किएदेखि औषधि खर्चपनि छैन,’ उनले दुखेसो सुनाईन, ‘अहिलेसम्म त्यहीँ काम गरेर दुई/चार पैसा जम्मा गरेर औषधि र खानाको जोहो गरिरहेकी थिए ।’ हिजोआज सीता बेकामे बनेकी छिन् । यस्तो बेला उनको मन घरमा अडिदैन् । दिनभरि राजमार्ग चौराहामा बसेर साँझ बुद्धनगरमा रहेको टिनको छाप्रोमा फर्किन्छिन् ।

१० वर्ष अघिको कुरा हो । शौचालयभन्दा दुई सय मिटर पश्चिममा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उनले दैनिक बचत थालेकी थिईन् । ‘कहिले तीन, कहिले पाँच सय गरेर तीन लाख जम्मा गरे,’ उनले भनिन, ‘चाहिएका बेला रकम निकाल्थे, अहिले बिरामी परेका बेला सहकारीका कर्मचारी भागेको थाहा पाए ।’ सुप्रिम त्यही सहकारी हो, जसको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती रवि लामीछाने पनि मुछिएका छन् ।

सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ? 

रोगसँग जुध्दै अघि बढेकी सीतालाई पछिल्ला एकाध वर्षमा अनेकन हैरानी बेहारिन् । पत्थरीले अप्ठ्यारो पारेपछि उनले एक वर्षअघि भारतको नयाँ दिल्ली पुगेर शल्यक्रिया गराइन । ‘अप्रेशन गर्दा आफ्नो कमाईले पुगेन,’ उनले भनिन, ‘७० हजार रुपैयाँ ऋण लाग्यो ।’ यता सहकारीले रकम खाएर भाग्यो, उता उपचार खर्च नपुगेर कर्जा लिनुपर्यो । यो कुराले पनि सीताको मनमा पीर थपेको छ ।

सीताका श्रीमान् बुटवल उपमहानगरपालिकाका सफाई कर्मचारी थिए । पतिपनि नगरको फोहोर संकलन गर्ने गाडीमा डुल्थे । सीता शौंचालय रुङिथन । शौंचालयमै बसेर सीताले एक छोरा र एक छोरी हुर्काइन । उनका पतिको ८ वर्षअघि हृदयघाटबाट मृत्यु भयो । छोरीले बुटवलको दीपनगरका युवासित बिहेवारी गरिन । रल्लिएर समय कटाउने छोरालाई सम्झाई बुझाइँ बैदेशिक रोजागारीमा बहराइन पठाएको उनले बताइन । सुप्रिममा जम्मा गरेको रकम डुबेपछि चिन्तामा रहेकी सीतालाई शौचालय भत्किएपछि झन चिन्ता थपिएको छ । उनले नगरपालिकाले पहिलेकै स्थानमा घुम्ती शौंचालय राख्ने भन्ने सुनेकी छिन् । भनिन, ‘घुम्ती शौंचालयमा नयाँ कर्मचारी राख्ने अरे,’उनले भनिन,‘म कहाँ जाउँ?’

बुटवल उपमहानगरपालीकाको स्वामित्वमा रहेको सार्वजनिक शौचालय रेखदेख गर्दा दैनिक नगद हात पर्थ्यो । मानिसले शौंच गरेवापत तोकिएको रकम बुझ्थिन । नगरपालिकामा मासिक ६ हजार बुझाएर आफ्नो भाग जम्मा गर्थिन । ‘साढे २ महिना भइसक्यो, मसित औषधि किन्ने पैसा छैन,’ उनले भनिन, ‘सडकमा बसेर माग्न सक्दिन, कमाईको माध्याम छैन ।’ अहिले रोगी भएकाले धेरै श्रम लाग्ने काम गर्न नसक्ने उनी सुनाउछिन । ‘उमेर छउन्जेल शौचालय सफा गरेर, कुरेर बिताएँ,’ उनले भनिन, ‘अब रोगले गार्‍हो काम गर्न सक्दिन भनें ।’ अहिले पनि घुम्ती शौंचालयमा काम गर्छु भनेर नगरपालिकामा निवेदन गरिरहेको उनले बताइन ।

नियमित कमाईको अभावमा उनलाई अहिले दाल चामलकै चिन्ता पर्न थालीसकेको छ । दाल चामलको जोहो छिमेकीहरुले धानीदिएपनि औषधी किन्ने पैसा नहुँदा उनलाई अर्को पीर छ । भनिन, ‘महिनामा औषधिकैलागि थुप्रो पैसा चाहीन्छ,’ उनले भनिन, ‘एउटा औषधी किन्दा २ सय लाग्छ, अरु औषधी गर्दा महिनामा १ हजार रुपैयां बढी चाहीन्छ । आफूसित त्यही हजार रुपैयाँ जुटाउने उपाय छैन ।’

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully