तीनकुनेमा गोली लागेर घाइते भएकालाई १३ दिनपछि भेट्न पुगे गृहमन्त्री

गृहमन्त्री भन्छन्- बिलअनुसार भुक्तानी हुन्छ, घाइते भन्छन् - अहिले नै खर्च गर्ने पैसा छैन

चैत्र २७, २०८१

विवेक पोख्रेल

After 13 days, the home minister visited the injured in Tinkunye

काठमाडौँ — गृहमन्त्री रमेश लेखक राजावादीले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरु भेट्न दुई हप्तापछि अस्पताल पुगेका छन् । बुधबार घाइते भएको १३ औं दिनमा लेखक बिरामी भेट्न अस्पताल पुगेका हुन् । चैत १५ मा राजावदीको प्रदर्शनमा गोली र छर्रा लागेर २० जना घाइते भएका थिए । त्यसमध्ये ५ जना अहिले पनि अस्पतालमा उपचारत छन् । 

बिरामीसँग भेट्मा लेखकले घाइते भएकाहरूको सम्पूर्णको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । ‘जो जति घाइते भएर अस्पताल आउनुभयो । उहाँहरुको सरकारले उपचार गर्ने भन्ने निर्णय गरिसकेको छ । सरकारको प्रतिबद्धताअनुसार सबै घाइतेहरुले नि:शुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर नै म हेर्न आएको हुँ ।’, घाइतेहरूसँगको भेटपछि लेखकले भने, ‘हामीले गरेको निर्णय कार्यान्वयन हुन्छ, अहिले अस्पतालमा नपाएको औषधि बाहिरबाट पैसा तिरेर किनेको कुरा पनि आएको छ । तत्काल आफूले खर्च गरे पनि त्यो खर्च गरेको विल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ । त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।’ 

लेखकका अनुसार उपचार गरेर डिस्चार्ज भएकाहरुले पनि खर्च गरेको बिल सम्बन्धित अस्पतालमार्फत प्रमाणित भएर आएमा सरकारमार्फत पैसा पाइनेछ । ‘खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ’, लेखकले भने,‘ घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइनेछ ।’

तर गृहमन्त्रीले भनेको झैं बिरामीले सहज रुपमा उपचार पाएका छैनन् । काठमाडौं मेडिकल कलेजमै उपचार खर्च तिर्न नसकेपछि स्याङ्जाका सुमन गुरुङ अस्पतालबाट भागेका थिए । उनलाई १५ चैतकै प्रदर्शनमा देब्रे गाला र देब्रे कानमा रबरको गोलीको छर्रा लागेको थियो । उनी चौथो दिन अस्पतालबाट भागेका हुन् । घाइतेमध्ये धेरैले अस्पतालमा पैसा तिरेर डिस्चार्ज भएका छन् ।

प्रहरीको हानेको गोलीको छर्रा दाहिने हातमा लागेका दोलखाका रामचन्द्र बुढाथोकी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा, पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा, दाहिने खुट्टाको तिघ्रामा गोली लागेका उदयपुरकी रेविका खत्री अहिले सिभिल अस्पतालमा उपचारत छन् । 

यस्तै, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र कुहिनामा गोली लागेका शम्भू दर्जीको ट्रमा अस्पतालमा उपचारत हुँदैछ ।

उनीहरुको एउटै समस्या छ, बिल दिएर पैसा पछि फिर्ता आए पनि तत्काल खर्च गर्ने पैसासमेत साथमा छैन । घाइतेका परिवारले सरकारबाट अहिलेसम्म कुनै पनि सहयोग नपाएको र राज्यका आधिकारी मान्छेसमेत अहिलेसम्म आफूहरुलाई भेट्न नआएको गुनासो सुनाएका थिए । घाइते र घाइतेका आफन्तले आफ्नो भविष्यको बारेमा समेत सरकारले सोच्नु पर्ने बताएका थिए । जवाफमा गृहमन्त्रीले भविष्यका बारेमा पनि आफूले केही पहल गर्ने बताएका थिए ।

मन्त्रालयले यसअघि नै समस्या भए मन्त्रालयको टोल फ्रि नम्बरमा सम्पर्क गरेर सहयोग लिन सक्ने विज्ञप्तिमार्फत बताएको थियो । बाहिरबाट औषधि किन्न सक्ने आर्थिक अवस्था नभए परिवारले सामाजिक सुरक्षा इकाइमा विपन्नको निवेदन दिएर सहयोग लिन सक्ने भने पनि बिरामीहरुले सो सेवाको प्रयोग गर्न पाएका छैनन् । मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा १ सय २९ जना घाइते भएकामा १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । कति जनाले के–के उपचार गराए, कति खर्च हुँदै छ भन्ने आधिकारिक विवरण भने मन्त्रालयसँग छैन । तीनकुने घटनामा दुई जनाको ज्यान गएको थियो ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully