राजा र गणतन्त्रवादी दुवै अटाउने व्यवस्था चाहियो : अध्यक्ष लिङ्देन

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

We need a system to avoid both monarchs and republicans: President Lingden

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताएका छन् । राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको खबरदारी सभामा अध्यक्ष लिङ्देनले देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ सझदारीको आवश्यकता रहेको बताएका हुन् ।

सबै राजनीतिक दलहरूको सझदारीमा नयाँ समझदारी गर्नपर्ने उनको भनाइ छ । ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौ, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्,’ उनले भने ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ ।’

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उनले उल्लेख गरे । भ्रष्टाचार गर्ने कोही पनि नछुटून र सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको उनले उल्लखे गरे । त्यसले देशमा नयाँ परिस्थिति निम्तिएको उनले बताए । राप्रपा कुनै प्रकारको हिंसाको पक्षधर नरहेको भन्दै उनले चैत १५ मा राज्यको तर्फबाट हिंसा भड्काइएको आरोप लगाए ।

‘सुनियोजित तरीकाले राज्यले हिंसा भड्कयो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाब किताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’ प्रहरी प्रमुखले समेत अश्रुग्यास म्याद नगुज्रिएको भनेर ढाँटेको उनले बताए । ‘प्रहरी प्रहरी भएर बसोस् । कुनै दलको कार्यकता भएर होइन,’ उनले भने ‘प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष रहेछन् ।’

राजावादीको प्रदर्शन हिंसात्मक नभएको भन्दै राज्य पक्षबाट गरिएको दमनलाई पनि हेर्न उनले सञ्चारमाध्यमहरूलाई आग्रह गरे । ‘तपाईंले अश्रुग्यास हान्नु भयो भने यहाँ बसेका मानिसले जे भेट्छन त्यसले हान्छन नि,’ उनले भने ‘सबभन्दा पहिला गोली कस्ले चलायो ? अश्रुग्यास कसले हान्यो ? मानव अधिकारवादीहरू कहाँ छन् ?’

उनले सञ्चार जगतप्रति गुनासो गर्दै भने ‘तपाईं सञ्चारकर्मीलाई गणतन्त्र मन पर्ला तर यो देश राजा मान्नेहरूको पनि हो । तपाईं सञ्चारकर्ममा रहेसम्म कम से कम निष्पक्ष व्यवहार गर्नुस् ।’  एमाले पार्टी कार्यालयमा सुरक्षाकर्मी राख्ने सरकारले  समाजवादी पार्टीको कार्यालयमा किन सुरक्षा नदिएको भनेर पनि अध्यक्ष लिङ्देनले प्रश्न गरे ।  'सुरक्षा किन गरिएन भन्ने आज फुटेज आइराख्या छन्,' उनले भने । चैत १५ गतेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने पनि उनले माग राखे । 

कान्तिपुर

Link copied successfully