काठमाडौँ — राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौंको विभिन्न भागमा संघीयताविरुद्ध प्रदर्शन गरिरहेको छ । मंगलबार माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव मनोज भट्टले नेपालका कुनै पनि दल संघीयताका जननी नभएको आरोप लगाए ।
महासचिव मनोज भट्टले माओवादी र मधेशवादी दलहरूले आफूहरूले संघीयता ल्याएको भने पनि संघीयता भारतले बोकाएको एजेन्डा भएको भट्टको भनाइ थियो ।
‘नेपालमा संघीयताको जननी लैनचौरको भारतीय दूतावास हो । लैनचौरको भारतीय दूतावासमा बसेर मधेश आन्दोलनको योजना बन्यो । २०६३ को माघ २ देखि १८ सम्म मधेशमा आन्दोलन चल्यो,’ उनले भने, ‘त्यही आन्दोलनको दबाबमा अन्तरिम संविधानमा संघीयता घुसाइयो । अब भन्नुहोस्, संघीयताको जननी प्रचण्ड हो कि लैनचौरको भारतीय दूतावास ?’ उनले सातवटा प्रदेशमा २६ हजार कर्मचारी आवश्यक पर्नेमा अहिले १३ हजार कर्मचारी मात्रै भर्ना हुँदासमेत करको भारले जनतालाई थिचेको बताए ।
माइतीघरमा प्रदर्शन सुरु हुनुअघि जावलाखेलबाट जुलुस प्रदर्शन गरिएको थियो । जुलुसमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, तथा राष्ट्रियता रक्षाका लागि चर्का नाराबाजी गरेको थियो । सभामा जर्मन कम्युनिस्ट पार्टीका प्रतिनिधिसहित विभिन्न जनवर्गीय संगठनका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोसिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
