सिरहा — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन् । सिरहा सदरमुकाममा मंगलबार आयोजित एमालेको जिल्ला अधिवेशन सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राजतन्त्र दिउँसै देखिएको सपना र अनावश्यक कुरा भएको बताए । ‘राजतन्त्र राति पनि होइन, दिउँसै देखिएको सपना हो,’ उनले भने, ‘यो सपनाको कुनै तुक छैन, यो अनावश्यक कुरा हो, सानो डिस्टर्बेन्स हुनेबित्तिकै यो सपना भंग हुन्छ ।’
राजावादी भनिनेहरूको चरित्र चैत १५ को तीनकुने घटनामा छताछुल्ल भइसकेको ओलीले बताए । ‘राजावादी कस्ता हुन्छन् भन्ने कुरा नेपाली जनताले देखिसके,’ उनले भने, ‘यस्ता अराजकहरूको शासन आयो भने देश अझै बर्बाद हुन्छ, तोडफोडकारी, आगजनीकारी, विध्वंसकारी तत्वलाई स्वीकार्न सकिन्न ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै मजबुत बनाउन आवश्यकताबमोजिम उपयुक्त समयमा संविधान संशोधन गरिने पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
