लिङ्देनको प्रश्न : चीन जाँदा पनि झापा-५ मा रंगशाला माग्ने प्रधानमन्त्रीले देशलाई के गर्छन् ?

'सानो क्षेत्रको होइन, देशलाई प्रतिनिधित्व गर्ने प्रधानमन्त्री चाहिन्छ'

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Lingden's question: What does the Prime Minister who asks for a stadium in Jhapa-5 even when he goes to China do to the country?

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशको प्रधानमन्त्री सिंगो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हुनुपर्ने बताएका छन् । बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूहरू रहेको बताएका हुन् ।

‘चीन जाँदा पनि झापा-५ मा एउटा रंगशाला चाहियो भन्ने प्रधानमन्त्रीले माग गर्छन्,’ उनले भने ‘यसबाट पनि देखाउँछ प्रधानमन्त्रीले एउटा सानो क्षेत्रको प्रतिनिधित्व गरेर हुँदैन । सिंगो देशलाई प्रतिनिधित्व गर्नुपर्छ ।’ एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्ने पक्षमा राप्रपा रहेको उनको भनाइ छ । घाटमा नपुगुन्जेल प्रधानमन्त्री भइरहने व्यवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

‘देशमा हिंसा नभड्कोस र सुरक्षित अवतरण चाहनुहन्छ भने तुरुन्तै हाम्रा नेताहरूलाई छाड्नुस् । निष्पक्ष आयोग बनाएर कारबाही अगाडि बढाउनुस्,’ उनले भने ‘हामी लामो समदेखि राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना र संघीयताको खारेजीको माग उठाइरहेका छौं ।’ राप्रपाले सक्रिय राजतन्त्रको माग कहिल्यै नगरेको पनि उनको भनाइ छ । अभिभावकीय संस्थाका रूपमा मात्रै संवैधानिक राजा आफूहरूको माग रहेको उनले बताए । 

हिन्दू राष्ट्र नेपालको पहिचान भएकाले सबै धर्मको स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा राप्रपा रहेको उनले बताए । आफूले कहिल्यै भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर रहेको उनले उल्लेख गरे । भ्रष्टाचार देशको शत्रु रहेको भन्दै जसले गरेपनि उसमाथि कारबाही हुनुपर्ने उनको भनाइ रह्यो । संघीयतालाई देशले धान्न नसक्ने उनले बताए ।  ४०/५० हजार तलबका लागि युवालाई बिदेसिन नपर्ने स्थिति बनाउन सकिने भन्दै त्यसको दोषी अहिलेका नेता र व्यवस्था रहेको उनले बताए । भ्रष्टाचार बढ्नुको कारक नै व्यवस्था रहेको उनको भनाइ थियो । ‘अख्तियार र अदालतमा नेताले नियुक्त गरेका मानिस छन् । अनि कसरी भ्रष्टाचारीलाई कारबाही हुन्छ ?,’ उनले भने ‘अर्को चुनाव प्रणाली हेर्नुस् । चुनावका बेला गाउँमा कुखुराका खोर खाली हुन्छ । खसी  सकिन्छन् । अनि जितेर आएपछि पैसा बुझाएर मन्त्री बन्छन् । उसले भ्रष्टाचर नगरे के गर्ला ?’ 

कांग्रेस, एमाले र माओवादीबाट परिवर्तन सम्भव छैन भन्दै उनले केपी ओलीपछि शेरबहादुर देउवाको पालो आउँदैछ भन्दै त्यसप्रति व्यंग्य गरे । ‘के देउवा बाँचुन्जेल प्रधानमन्त्री भए भने देश बन्छ ? कसैले भन्न सक्छ,’ उनले भने ‘केपी ओली र वा प्रचण्डलाई पनि २५औं वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्दैन । उनीहरू जति बस्छन त्यति देश बर्बाद हुने हो ।’

कान्तिपुर

Link copied successfully