'मलाई के थाहा छ भने योगी आदित्यनाथजीले भारतमा जुन हाम्रो दुतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यही हुन्छ, म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ'
काठमाडौँ — सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाका लागि भारतको भूमिका रहेको भन्नेकुरा हल्लामात्र भएको बताएका छन् । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ भाजपा नेता योगी आदित्यनाथले पनि नेपालमा राजसंस्था पुनःस्थापनामा आफ्नो कुनै संलग्नता नरहेको स्वीकार गरेको देउवाको भनाइ छ ।
गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा सभापति देउवाले यस्तो नेपालमा राजसंस्थाको पक्षमा भारत नभएको बताएका हुन् ।
‘चन्द्रशेखरले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं,' देउवाले भने, 'अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यनाथजीले भारतमा जुन हाम्रो दुतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यहीँ हुन्छ, म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ । त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ ।’
नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताए ।
