'प्रहरीलाई मैले पानी दिएँ, बदलामा गोली खाएँ'

जडीबुटी चोकमा मोबाइल पसल चलाउने रामहरि श्रेष्ठ भन्छन् : ‘प्रहरीले पानी मागेपछि मैले पानी दिएँ । पानी नदिई भागेको भए गोली नलाग्ने रहेछ’

चैत्र २५, २०८१

विवेक पोख्रेल

'I gave water to the police, got shot in return'

काठमाडौँ — ‘प्रहरीले पानी मागेपछि मैले पानी दिएँ । पानी नदिई भागेको भए गोली नलाग्ने रहेछ,’ काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर  बी एन्ड बी हस्पिटलमा उपचार गराई रहेका काभ्रेका रामहरि श्रेष्ठ(रिदम)ले भने,‘मैले प्रहरीलाई पानी दिएँ, प्रहरीले मलाई 'उपहारस्वरूप' गोली हान्यो ।’

जडिबुटी चोकमा श्रेष्ठ दाजुभाइको नमस्कार इन्टरप्राइजेज नामको मोबाइल पसल छ। दाइले सुरु गरेको पसलमा उनी मोबाइल बनाउँथे ।

‘जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीभित्र गाडी जलिरहेको थियो  । एक घण्टासम्म प्रहरी आएको थिएन । ५/७ वटा गाडी जलेपछि प्रहरी आइपुगे,’ रामहरिले भने,‘ म पसलको सटर तानेर बरन्डामा बसिरहेको थिएँ । चाबी लगाउने काम भने बाँकी नै थियो । अश्रुग्यास हान्दै प्रहरी कोटेश्वरतर्फबाट आयो । हाम्रो तीन वटा सटरमा ६ वटा चाबी लगाउनु पर्ने थियो । दुईवटा मात्र चाबी लगाउन बाँकी रहँदा प्रहरीले हाम्रै पसलअघि भाटा हान्न थाल्यो ।’

उनले त्यसपछि प्रहरीलाई आफूले प्रदर्शनकारी नभएको बताए ।  'मैले मेरो पसल हो । चाबी लगाएर जान्छु भने तर, प्रहरीले नराम्रो शब्द बोल्दै गाली गरे । तिमीहरू बन्द गरेर गइहाल भनेर झपार्‍यो,' उनले भने । त्यसपछि दाइसँग मिलेर पसलमा चाबी लगाए । 

सटर छेउको बरन्डामा पानीको बोतल थियो । प्रहरीले पानी मागे । दाइले  दिनुपर्दैन भन्दै थिए तर उनको मन मानेन । 'दाइले हिँड् भन्दै थियो  । पानी त दिउँझैं लाग्यो । मैले पानी दिएँ । पानी पाएको प्रहरीले तैंले बक्सिस पाइस् । यताबाट जा भने,' रामहरिले भने ।

हेलमेट लगाएर पार्किङमा जाँदै थिए । तर पार्किङ पहिले नै बन्द गरिसकिएको थियो । 'पार्किङमा बाइक झिक्नुभन्दा पहिले नै सुरक्षाको लागि होला बन्द थियो । प्रहरीले हानेको अश्रुग्यासले मेरो आँखा पोल्यो । अँखा मिच्दै पसलदेखि पेप्सीकोलातर्फ जाँदै थिए ।  त्यही बेला मलाई पाखुरामा गोली लाग्यो,' उनले भने । उनलाई लाग्छ- प्रहरीले आवश्यकताबिनै गोली चलायो ।  'अश्रुग्यासले नै भिड तितरबितर भइसकेको थियो । गोली चलाउनुपर्ने नै थिएन । मेरो वरिपरि अरु कोही पनि थिएनन्,' उनले भने । 

काभ्रेको पनौती नगरपालिका १, का रामहरि  ७ कक्षा पढ्न दाइसँग काठमाडौं आएका थिए । ५ कक्षामा पढ्दै गर्दा बुवाको प्यारालाइसिसले मृत्यु भएपछि उनी काठमाडौं आएर होस्टेल बसेर पढ्थे । एसएलसीपछि भने उनी दाइको व्यवसायमा सहयोगी बन्दै आएका थिए । काभ्रेमा नै बस्ने आमालाई भने उनले सडक दुर्घटनामा परेको भनेर ढाँटेका छन् । गोली लागेपछि शारीरिक र मानसिक रूपमा कमजोर आफू कमजोर भएको उनको भनाइ छ ।  

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully