काठमाडौँ — जनमत र नाउपा एकता, नागढुंगा सुरुङमार्ग निर्माण २२ दिनदेखि ठप्प र पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाइसम्मका खबर आज चर्चामा रहे ।
०००
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन् । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।
०००
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प भएको सोमबार २२ दिन पुग्यो । अझै कहिलेबाट निर्माण सुरु हुन्छ, अन्योल कायमै छ । स्थानीयको अवरोधकाकारण सुरुङको निर्माण ठप्प बनेको हो । काम सुरु गर्न न सरकारबाटै कुनै प्रयास भएको छ न स्थानीयले सहजीकरण नै गरेका छन् ।
०००
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा अरुले फाइदा उठाउन खोजेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको प्रसंग सुनाउँदै यस्तो बताएका हुन् ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय स्थानीय लगानीकर्तालाई बेच्न वा अमेरिकामा प्रतिबन्ध खेप्नको लागि दिएको समयसीमा ७५ दिन बढाएका छन्। आफूले शासन सम्हाल्नेबित्तिकै टिकटक विवादमा समाधान खोज्ने भन्दै तत्कालीन प्रतिबन्ध अढाइ महिनाका लागि स्थगन गरेका ट्रम्पले पुन: म्याद थपको घोषणा गरेका हुन् ।
०००
नेपाल यू–१९ निकै रोमाञ्चक दोस्रो युथ एकदिवसीय क्रिकेटमा आइतबार अफगानिस्तान यू–१९ सँग १ रनले पराजित भएको छ । अर्को साता सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको क्रममा रहेका यी दुई टोली बीचको खेलमा यस विजयसँगैं अफगानिस्तानले ३ खेलको शृंखलामा अविजित २–० को अग्रता लिएको छ ।
