पोल्याण्ड हिडेका दुई नेपाली युक्रेनमा पक्राउ

चैत्र २४, २०८१

होम कार्की

Two Nepalis who went to Poland arrested in Ukraine

काठमाडौँ — युक्रेनको सीमा सुरक्षा गार्डले दुई नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङका सन्देश केशी र महोत्तरीका जयप्रकास शाह रहेका छन् ।

भारतीय दलाल मार्फत् पोल्याण्ड प्रवेश गर्नको लागि उनीहरू युद्धग्रस्त मुलुक युक्रेन फुगेका थिए । युत्रेन मामिला हेर्ने जर्मनस्थित नेपाली दुतावासले केशी र शाह पक्राउ भएको पुष्टि गरेको छ ।

‘उनीहरू एकहप्ता अगाडि पक्राउ परेका हुन्। उनीहरूलाई थप छानविनको लागि हिरासतमा राखिएको छ,’ दुतावासका उपप्रमुख सागर फुयाँलले कान्तिपुरसँग भने,‘उनीहरूलाई जतिसक्दो छिटो नेपाल पठाउनको लागि दूतावासले युक्रेन सरकारसग आवश्यक पहल गर्नेछ ।

केशी र शाहलाई तत्काल नेपाल पठाउन कठिनाई हुने फुयालले बताए । यसअघि युक्रेनमा पक्राउ परेका शेर स्याङ्वो र फुर्वा शेर्पालाई नेपाल  पठाउन १० महिना लागेको थियो । उनीहरू पनि भारतीय एजुकेशन कन्सल्टेन्सी मार्फत ७/७ लाख रुपैयाँ बुझाएर युक्रेन पुगेका थिए । उनीहरूलाई युक्रेनले जासुसी गर्न आएको भन्दै अनुसन्धानमा निकै कडा गरेको थियो ।

केशी र शाह युक्रेनसँग सीमा जोडिएको देश मोल्डोभाबाट सडक मार्ग हुँदै  युक्रेनको राजधानी किभ पुगेका थिए । त्यहाँबाट सडक मार्ग हुँदै पोल्याण्ड छिर्ने उनीहरूको योजना थियो ।

उपप्रमुख फुयाँलले केशी र शाहलाई सिधै युक्रेनबाट नेपाल पठाउन नसकिने बताए । यसको लागि मोल्डोभालाई भिसा दिनको लागि सहजीकरण गर्नुपर्नेछ ।

२४ फेव्रअरी २०२२ देखि युक्रेनको सबै अन्तर्राष्ट्रिय विमानस्थल सैन्य उडान बाहेकका यात्रुबाहक विमानको आवगमन बन्द छ । २०२३ को जनवरी तेश्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाली लगायतका नागरीकले आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीलाई प्रवेशाज्ञा (भिसा) जारी नगर्ने निर्णय गरेको थियो।

‘गैरकानुनी रुपमा युक्रेन प्रवेश गर्ने कुनै पनि नेपालीलाई त्यहाँबाट युक्रेनसँग सिमाना जोडिएका कुनै पनि मुलुकमा जान सम्बन्धीत मुलुकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेका अध्यागमन कार्यालयले प्रवेशज्ञा जारी नगर्ने,’ १० फागुन २०७९ मै नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको थियो,‘युक्रेनमा हाल अन्तराष्ट्रिय उडान समेत स्थगित भएको सर्न्दभमा नेपाली दुतावासबाट यात्रा अनुमतिपत्र जारी भई त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था छैन ।’

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully