काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत भ्रमणमा निस्किएका छन् । भारतका प्रधानन्यायाधीश संजीव खन्नाको निमन्त्रणामा प्रधानन्यायाधीश राउत आइतबार पाँच दिने भारत भ्रमणमा गएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार भ्रमणदलमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल पनि छन् ।
'प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भारतका प्रधानन्यायाधीश संजीव खन्नाको मैत्रीपूर्ण निमन्त्रणामा चैत २४ देखि २८ गतेसम्म भारतको सर्वोच्च अदालत लगायत विभिन्न अदालतहरूको भ्रमण कार्यक्रममा सहभागी हुन आइतबार नेपाल एयरलाइन्सको विमानबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ,' कुइँकेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'उक्त भ्रमण दलमा यस सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, मुख्यरजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, उपरजिष्ट्रार नवीनकुमार यादव समेतको सहभागिता रहेको छ ।'
