सरकारले शिक्षकहरूका माग सम्बोधन गर्छ, उहाँहरु छिट्टै फर्किनुहुनेछ : प्रधानमन्त्री ओली

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

The government will address the demands of the teachers, they will return soon: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले शिक्षकहरू अहिलेको सरकारसँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएकोमा धन्यवाद दिए ।

उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकारले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले भने, 'शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु। किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ। नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी। किनभने प्रदर्शन गरेपछि पनि कानमा बतास लाग्दैन भने, किन प्रदर्शन गर्ने? अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ। '

उनले सरकार शिक्षक विरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुङ्ग्याइने बताए।

उनले भने, 'हामी कुराकानी पनि गर्छौँ। हामी उहाँहरूका कुरा सुन्छौँ पनि। न उहाँहरू सरकार विरोधी हो, न सरकार उहाँहरूविरोधी हो। यो सबै हामी एउटै हौँ। के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर सल्ला गरेर टुङ्गिने हो। धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ। सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दैन। उहाँहरू यहाँ आइहाल्नुभएको छ, ठिक छ, आइरहनुपर्ने पनि थिएन। सानो डेलिगेसन आएर पनि हुन्थ्यो। तर पनि उहाँहरूले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तो ठान्नुभयो होला। र अहिले ठूलो जमात जानुपर्छ भनेर नै आउनु भयो होला। यो विश्वासको लागि धन्यवाद भन्छु।'

प्रधानमन्त्री ओलीले काठमाडौँमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए ।

कान्तिपुर

Link copied successfully