बहस सकिएको दुई घण्टामा त्यो आदेश लेख्न सकिँदैन, पहिल्यैदेखि तानाबाना थियो : रास्वपा उपसभापति स्वर्णिम वाग्ले

चैत्र २३, २०८१

रमेशकुमार पौडेल

That order cannot be written within two hours of the debate, it was already planned: RSVP Deputy Chairman Swarnim Wagle

चितवन — प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछानेलाई हिजो शुक्रबार साँझ उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न दिएको आदेशमाथि आशंका प्रकट गरेका छन्। ‘भारत, क्यानडा लगायतका उदाहरण दिएर फैसला लेखिएको छ।

निकै विद्वानले फैसला लेखेको जस्तो लाग्छ, तर बहस सकिएको दुई घण्टामा त्यसरी फैसला लेख्न सकिँदैन। तानाबाना पहिले देखि नै रहेछ,’ शनिबार भरतपुरमा आयोजित पार्टीको ‘जनयात्रा’मा बोल्दै वाग्लेले आक्रोश पोखेका थिए।

‘जनयात्रा’को उद्घाटन पार्टी सभापति लामिछानेले गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। सहकारी ठगीमा पक्राउ र मुद्दा चलेको विषयमा लामिछानेले चितवनवासीलाई विशेष सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो। ‘चितवनमा बोल्न नै नदिनका लागि कानुनी राज्यको धज्जी उडाउँदै सभापतिलाई पक्राउ गरियो,’ वाग्लेले भने। आदेश आइसकेपछि पनि लामिछाने चितवन आउने योजनामा रहेका थिए र कार्यालय खुलेपछि आदेश कार्यान्वयन गर्न जहाँ जाने हो त्यहाँ जान्छु भनेर भनेका बेला आकाशै खस्ला जस्तो गरेर धरपकड गरिएको वाग्लेले बताए।

प्रतिनिधिसभा सदस्य तथा ‘जनयात्रा’का संयोजक विराजभक्त श्रेष्ठले कांग्रेस-एमालले देशलाई दुई दलीय प्रणालीमा ल्याउन खोजेको तर त्यसो नहुने बताए। ‘अब दुई दल होइन, दुई कित्ता हुने छन्। एउटा कित्ता लुटतन्त्रवादी र अर्को धार लोकतन्त्रवादीको हुनेछ। जनताले कुरा बुझिसकेका छन्,’ श्रेष्ठले भने। पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति पक्राउ परेको विषय कानुनी मात्र नभएर राजनैतिक पनि भएको बताए। उनले आफूसँग शक्ति भएको र यसलाई विवेकमा परिणत गर्ने बताए।

‘त्यो विवेक ८४ सालको चुनावमा प्रयोग गरौँ,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले अपिल गरे। चितवन–१ बाट निर्वाचित सांसद हरि ढकालले न्यायालयप्रति हार्दिकता देखाउँदै पनि सरकारले गुण्डागर्दी शैलीमा बेडरुममै पुगेर पार्टी सभापतिलाई समाएको बताए । उनले दोहर्‍याए, ‘हो, त्यो गुण्डागर्दी शैली नै हो। बेडरुममै पुगेर दुर्व्यवहार गरियो।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully