रास्वपाको भरतपुरको कार्यक्रम यथावत्

चैत्र २३, २०८१

रमेशकुमार पौडेल

RSVP's Bharatpur program remains the same

चितवन — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत बुटबल इजलासको आदेशले पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पक्राउ परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शनिबार दिउँसो भरतपुरमा तय गरेको कार्यक्रम यथावत राखेको छ । कार्यक्रम भरतपुरको चितवन जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा हुँदै छ ।

पार्टीले शनिबार भरतपुरबाट 'जनयात्रा' कार्यक्रम सुरूवात गर्ने तय गरेको थियो । जसमा सभापति लामिछानेले सम्बोधन गर्ने र चितवनवासी समक्ष विशेष मन्तव्य दिने भनेर प्रचार गरिएको थियो ।

'सभापतिजी पक्राउ परे पनि आजलाई तय भएको कार्यक्रम रोकिन्न । पार्टीका केन्द्रीय पदाधीकारीहरू डिपि अर्याल, स्वर्णिम वाग्ले लगायत सांसदहरूले पनि बोल्ने कार्यक्रम छ,' रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुषालले भने ।

हाल सांसद पदबाट निलम्बित रहेका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएर गृहमन्त्री समेत भएका थिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully