रविलाई सोमबार मात्रै अदालत पेस गरिने

चैत्र २३, २०८१

घनश्याम गौतम

Ravi will be produced in court only on Monday

बुटवल — शुक्रबार राति पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई सोमबार मात्रै अदालतमा पेस गरिने भएको छ। सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान भैरहवा ल्याउँदै छ।

शनिबार र आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए। 'शनिबार र आइतबार सार्वजनिक बिदा छ, पहिला अदालत पेस गर्नुपर्ने हुन्छ, त्यसपछि कारागार पठाउने हो,’ उनले भने, ‘अब दुई दिन प्रहरी हिरासतमै राख्छौं ।’

सोमबार अदालत खुलेपछि लामिछानेलाई पेस गरिने र त्यसपछि मात्रै उनलाई कारागार चलान गरिने एसपी राठौरले बताए। 

सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । स्रोतका अनुसार सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको छ ।

दुवै ब्लकमा एकै प्रकारको सुविधा भएपनि ब्लक नं. २ तुलनात्मक रूपमा केही फराकिलो छ । गर्मीको समयमा अलि बढी हावा चल्ने र भित्रको स्पेस पनि केही खुल्ला भएकाले रवि र छविलाई एकै ब्लकमा राख्ने सम्भावना छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully