सगरमाथा संवादमा मोदीजी आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Modi ji will not come to Everest dialogue, I may visit India before that if I have time: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् । सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने, तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन् ।

शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्यान्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए । 

प्रधानमन्त्री ओलीले भने, 'भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो, श्रीलङ्काका प्रधानमन्त्री, भुटान र म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो। खास गरी भारतीय प्रधानमन्त्रीसँगको भेट कस्तो भयो र के भयो भन्ने चासो छ। भेट अत्यन्तै राम्रो भयो। सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भेट भयो। यस पल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। यस कारण कि उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। त्यसलाई बदल्न सक्ने अवस्था नभएकाले उहाँ यहाँ आउन सक्नुहुन्न, तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ।'

उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरूमा छलफल भएको बताए । 

उनले भने, 'धेरै लामो होइन, दुई प्रधानमन्त्रीका बीचमा गत सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो। सेप्टेम्बरमा तपाईँहरूले भनेको जस्तो कुनै नराम्रो भएको होइन। नराम्रो केलाई भन्नु भनेको फ्रेण्डली कुराकानी गरेका थियौँ। यसपल्ट त्यसभन्दा बढी राम्रो कुराकानी भयो। पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा, हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूको सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरू, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरू लगायतका कुराहरूमा छलफल भयो। दुई पक्षीय पारस्परिक हितका बारेमा कुराकानी भएको छ। व्यापारका क्षेत्रमा कुराकानी भएको छ।

नेपाल-भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुङ्ग्याउने बारेमा समझदारी भएको बताए । 

 'हामीले एउटा अठोट गरेका छौँ, नेपाल—भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लैजाने र कुनै सानातिना छिमेकमा समस्या देखिन सक्छन् भने, त्यस्तो तत्काल कुराकानी गर्ने र टुङ्ग्याउने भन्ने कुरा हामीले गहिरो समझदारी गरेका छौँ। यो भेटघाट फलदायी भयो र खुसी छु,' उनले भने, 'उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु। भारत भ्रमण असम्भव कुरा थियो र? कतिपय कारणले नभ्याएको स्थितिले मात्रै हो। अवरुद्ध भएको भनेर बाहिर देखिन्छ, त्यस्तो होइन। काँडे तार लगाएको छ र कसैले? त्यस्तो होइन। ठिकै ढंगले बुझ्दा हुन्छ। हामीले भ्याउँछौँ भने सगरमाथा संवादभन्दा पहिले भारत भ्रमण हुन पनि सक्छ।'

प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहे पनि आफूले समय मिलाउन सके हुनसक्ने बताए ।

कान्तिपुर

Link copied successfully