भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ : मोदी
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार थाइल्यान्डमा एक्लाएक्लै भेट गरेका छन् । दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलका दौरान दुई नेताबीच ‘साइडलाइन’ वार्ता भएको हो । भारतसँग सम्बन्ध चिसिएको भनिँदै आएका बेला ओली–मोदीबीच भएको एक्लाएक्लै भेटलाई अर्थपूर्ण मानिएको छ ।
बिमस्टेक शिखर सम्मेलनको समापनपछि मोदी बसेको होटल मान्डारिन ओरिएन्टलमा भएको भेटलाई दुवै नेताले फलदायी भएको बताएका छन् । भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीच भेटमा अद्वितीय र घनिष्ठ सम्बन्धको समीक्षा भएको जनाएको छ । दुई देशबीच भौतिक र डिजिटल सम्पर्क, नागरिकबीचको सम्पर्क तथा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको जनाएका छन् । ‘मेरो प्रिय मित्र प्रधानमत्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भयो, हाम्रो कुराकानी अत्यन्त सार्थक र सकारात्मक भएको छ,’ उनले लेखेका छन्, ‘यो सौहार्दपूर्ण भेटघाटका लागि खुसी व्यक्त गर्छु ।’ ओलीले ‘एक्स’ मा आफ्नो प्रतिक्रिया हिन्दी भाषामा लेखेका छन् ।
मोदीले पनि ‘एक्स’ मार्फत प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट फलदायी रहेको लेखेका छन् । उनले नेपाली भाषा प्रयोग गरेका छन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो, भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन् ‘हामीले नेपाल–भारतबीच मित्रताका विभिन्न क्षेत्रमा छलफल गर्यौं ।’
ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधिजस्ता क्षेत्रमा छलफल भएको उनले उल्लेख गरेका छन् । बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणाम विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका विषयमा पनि दुई नेताबीच कुराकानी भएको उनले ‘एक्स’ मा उल्लेख गरेका छन् ।
भारतीय विदेश मन्त्रालयको वक्तव्यमा दुई देशका जनताबीच बहुआयामिक साझेदारी थप गहिरो बनाउने दिशामा प्रयास जारी राख्ने सहमति भएको उल्लेख छ । भारतको प्रथम छिमेकी नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भनिएको छ । प्रधानमन्त्री तहमा भएको बैठकले दुई देशबीच नियमित उच्च स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फेसबुकमा लेख्दै दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा भएको भेटवार्ता आत्मीय भएको जनाएका छन् । प्रधानमन्त्रीसँग भ्रमण टोलीमा रहेका एक सदस्यका अनुसार मोदीसँगको भेटपछि ओली उत्साहित देखिएका थिए । उनका अनुसार दुई जना प्रधानमन्त्रीबीच भ्रमणको दोहरो आदानप्रदान गर्ने विषयमा पनि कुराकानी भएको छ । कूटनीतिक च्यानलबाट उपयुक्त समयको निर्धारण गरिनेछ ।
प्रधानमन्त्री भएको साढे ८ महिनामा ओलीको मोदीसँगको यो दोस्रो भेट हो । दुईवटै भेट नेपाल वा भारतको भूमि नभएर बाहिरै भएको हो । यसअघि प्रधानमन्त्री भएको तीन महिनामा ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग ‘साइडलाइन’ वार्ताको अवसर पाएका थिए । राष्ट्रसंघको ७९ औं महासभाका दौरान उक्त वार्ता भएको थियो ।
ओलीले थाइल्यान्डको औपचारिक भ्रमण सफल भएको बताएका छन् । उनको निजी सचिवालयका तर्फबाट जारी प्रेस नोटमा शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताले ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख छ ।
प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाने अभ्यासलाई यस पटक ओलीले निरन्तरता दिन सकेका छैनन् । भारत सरकारले अहिलेसम्म ओलीलाई निमन्त्रणा पठाएको छैन । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारत भ्रमण गरेका थिए । न्युयोर्कको भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर मोदीको भ्रमण पनि अहिले समय तय भइसकेको छैन । यसबीचमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले तीन पटक भारत पुगेर प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउन प्रयास गरेकी छन् । ओलीको भारत भ्रमणमा भएको ढिलाइलाई नेपालको राजनीतिक वृत्तमा भारतसँग सम्बन्ध चिसिएको रूपमा व्याख्या गरिँदै आएको छ । गत मंसिरमा ओलीले चीनको भ्रमण गरेका थिए । पहिले भारत जाने अभ्यासलाई यसअघि २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेका थिए । यस पटक ओलीको रोजाइमा पनि पहिला उत्तरी छिमेकी चीन पर्यो । चीन भ्रमणका बेला बीआरआई परियोजना कार्यान्वयनमा हस्ताक्षर भएको थियो । कूटनीतिक वृत्तमा त्यसले भारत थप चिढिएको बुझाइ छ ।
थाइल्यान्डमा भएको छैटौं बिमस्टेक शिखर सम्मेलन ‘बैंकक भिजन २०३०’ सार्वजनिक गर्दै सकिएको छ । सम्मेलनले ‘बैंकक भिजन’ सहित ६ वटा प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । त्यसलाई सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको हो । बैंकक भिजन क्षेत्रीय विकासका लागि तयार पारिएको खाका हो । त्यसमा क्षेत्रीय व्यापार विस्तार, कनेक्टिभिटी तथा मानव सुरक्षालाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, समुद्री सम्पर्क र व्यापार बढाउने विषयलाई पनि महत्त्व दिइएको छ । म्यानमार र थाइल्यान्डमा गएको भूकम्पमा राहतका लागि सबै देशले एकजुटता देखाउने प्रतिबद्धता पनि बिमस्टेकको मञ्चबाट व्यक्त गरेका छन् । बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमूखी संयन्त्रको गठनलाई पनि सम्मेलनले स्वीकृति प्रदान गरेको छ ।
दक्षिण तथा दक्षिण–पूर्वी एसियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ मा उक्त मञ्च स्थापना भएको हो । सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड मिलेर उक्त मञ्चको स्थापना गरेका थिए । पछि बिमस्टेकमा म्यान्मार, नेपाल र भुटान थपिए । दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई जोड्ने थलोका रूपमा बिमस्टेको विकास भएको छ ।
