सभामुख घिमिरे नेतृत्वको टोली उज्वेकिस्तान प्रस्थान

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

The team led by Speaker Ghimire left for Uzbekistan

काठमाडौँ — अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी तास्केन्ट प्रस्थान गरेका छन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तान गएको हो ।

प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।

अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म तास्केन्टमा हुँदैछ ।

अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले 'सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू' विषयमा सम्बोधन गर्नेछन् । सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तरव्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनेछन् ।

सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउनेछन् । साथै सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनसँगै सञ्चालन हुने संसद्‌का महासचिवहरूको बैठकहरूमा संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् ।

सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा 'बन्दुङ आत्माको ७० वर्षको सम्झना: बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसद्‌हरूको भूमिका' विषयमा मन्तव्य दिनेछन् । उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन् ।

कान्तिपुर

Link copied successfully