'हिंसात्मक गतिविधिलाई विषयान्तर, ढाकछोप गर्ने र हामीले ठिक गरेका थियौं भनेर पुष्टि गर्न विभिन्न खालका भ्रम फैलाइएको छ'
काठमाडौँ — राजावादीहरूले चैत १५ मा आगजनी, तोडफोड र लुटपाट मच्चाएको विषयमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराएका छन् । उक्त प्रदर्शनको नेतृत्वकर्ताको उद्दण्डताले उक्त घटना भएको लेखकको भनाइ छ ।
राज्यव्यवस्था समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि स्वीकार्य नहुने पनि स्पष्ट पारे । 'संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि निस्तेज पारिनेछ,' उनले भने, 'त्यस्तो हुन्छ आन्दोलन, प्रदर्शन ? त्यै हो लोकतन्त्रको उपयोग गरेर आलोचना गर्ने कुरा ? त्यसरी नै यो संविधान जोगाउन सक्छौं ?'
गृहमन्त्री लेखकले राजावादीहरूको प्रदर्शन कुनै राजनीतिक नभई संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई हिंसात्मक तरिकाबाट उल्ट्याउने योजनाका आधारमा रहेको देखिएको बताए । लोकतान्त्रिक व्यवस्था र सित्तैमा प्राप्त नभएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका साथै समानुपातिक समावेशी व्यवस्था जोगाइने उनको भनाइ थियो । हिंसात्मक गतिविधि र उद्दण्डता एवं अराजकताका भरमा व्यवस्था उल्ट्याउनेबारे नसोच्न उनले आग्रह गरे ।
उक्त प्रदर्शनको नेतृत्व गरेका व्यक्तिहरूको अभिव्यक्ति र उद्दण्डताका बाबजुद सुरक्षाकर्मीले संयमता अपनाएको मन्त्री लेखकको भनाइ थियो । 'भीडको नेतृत्वकर्ताको उद्दण्डताका आधारमा सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षति हुने थियो । जस्तो खालको उद्दण्डता र आपराधिक गतिविधि भयो त्यसमा संयमता नअपनाएको भए थप क्षति हुने थियो,' उनले भने ।
एयरपोर्टमा आगजनी गरिएको पनि गृहमन्त्रीले बताए । त्यहाँ रहेको पेट्रोलियम भण्डारणमा आगो लागेको भए अझै अवस्था भयावह हुने थियो भन्ने लेखकको भनाइ थियो ।
यस्ता घटनामा सुरक्षा निकायले नियन्त्रण गर्न बल प्रयोग नगरेमा पनि आलोचना हुने र बल प्रयोग गरेर नियन्त्रण गर्न खोजेमा पनि आलोचना हुने गरेको लेखकको भनाइ थियो ।
हिंसात्मक गतिविधिलाई विषयान्तर गर्न र ढाकछोप गर्नका लागि बल प्रयोग गरेको भनेर चर्चा भइरहेको गृहमन्त्री लेखकको भनाइ थियो । 'यसरी गरिएका हिंसात्मक गतिविधिलाई विषयान्तर, ढाकछोप गर्ने र हामीले ठिक गरेका थियौं भनेर पुष्टि गर्न विभिन्न खालका भ्रम फैलाइएको छ । कहाँबाट टियर ग्यास फाल्यो भनेको छ, कहाँ के गरेको भनेको छ,' उनले भने ।
लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा सञ्चारजगत रहेको पनि गृहमन्त्री लेखकले बताए । लोकतन्त्र मास्नेहरूका लागि पहिले सञ्चारगृहमा सेना र प्रहरी लगाइएको र अहिले आक्रमण गरिएको लेखकले बताए ।
