प्रधानमन्त्री ओलीसँग फलदायी भेटघाट भयो : भारतीय प्रधानमन्त्री मोदी

एक्समा ओलीलाई मेन्सन गर्दै मोदीले नेपालीमै लेखेका छन्, 'बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो।'

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Had a fruitful meeting with Prime Minister Oli: Indian Prime Minister Modi

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटवार्ता भएको बताएका छन् । बिमस्टेक सम्मेलनको साइडलाइन वार्ताका रूपमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध भारतको सधैं प्राथमिकतामा रहेको बताएका हुन् । 

एक्समा ओलीलाई मेन्सन गर्दै मोदीले लेखेका छन्, 'बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।' 

परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको हो । नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।

त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतीक्षित भेटघाटका रूपमा हेरिएको थियो । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो । त्यसपछि ओली र मोदी बिमस्टेकको मञ्चमा भेटेका हुन् ।

कान्तिपुर

Link copied successfully