हाकाहाकी भेप आयात : वैध कि अवैध ?

पछिल्लो समय एकपछि अर्को गरी भेप बरामदका घटना सार्वजनिक भएको छ । एकातिर सरकारले भेपको आयात रोक्ने तर बजारमा खुद्रा किनबेच भने खुल्ला गर्ने दोहोरो नीति लिइराखेको छ ।

चैत्र २१, २०८१

ऋषिराम पौड्याल

Hakahaki Vape Import: Legal or Illegal?

काठमाडौँ — भन्सारले आयातमा प्रतिबन्ध लगाइरहेको सामान कुनै व्यापारीले करोडौं लगानी गरेर अन्य सामानझैँ नियमित तरिकाले भित्र्याउने आँट गर्छ त ? पक्कै पनि गर्दैन होला । तर आइतबार तातोपानी भन्सारमा भएको एक घटनाले भने अनौठो प्रश्न उब्जाइदिएको छ ।

गत वैशाखमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य तथा सञ्चार केन्द्रले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका-२०७१ बमोजिम भेप आयात रोक्न भन्सार कार्यालयहरूलाई पत्र पठायो । वैशाखमा पत्र पठाए पनि गत मंसिरसम्म विभिन्न नाकाबाट भेप आयात भएको भन्सार विभागकै तथ्यांकमा देखिन्छ । चालु आर्थिक वर्षको मंसिरसम्म १० लाख ६४ हजार रुपैयाँबराबरको ११९ किलो भेप आयात भएको छ । 

गत आइतबार सिल्क ट्रान्सपोर्टले एक कन्टेनर भेप आयात गरेको सूचना तातोपानी भन्सारका कर्मचारीलाई दिए । सूचनाका आधारमा भन्सारका कर्मचारीले उक्त कन्टेनर रोके । त्यसभित्र ९ सय ८० कार्टुन थिए । जसमा प्रत्येक कार्टुनमा डेढदेखि दुई सय थानसम्म भेप छन् । भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको छ । तर के अवैध भनिएको भेप भन्सारको निगरानीमा राख्न मिल्छ भन्ने प्रश्न उब्जिएको छ ।

सिल्क ट्रान्सपोर्टकै इमाडोलस्थित गोदामबाट गत पुसमा ८६ हजार थान भेप बरामद भएको थियो । उक्त मुद्दामा गोदामका दुई कर्मचारीलाई २० करोड बैंक ग्यारेन्टी लिएर थुना मुक्त गरेको छ । तातोपानी भन्सार प्रमुख कमलकुमार भट्टराईले भने, ‘ट्रान्सपोर्टले हामीलाई जानकारी दिएरै भित्र्याएकाले सुरक्षित राखेका छौं । जाँचपास गर्न मिल्ने भयो भने राजस्व लिएर छाड्छौं । नमिल्ने भएका नियम अनुसार प्रक्रिया अघि बढ्छ ।’  

इलेक्ट्रिक चुरोट(भेप) आयातका बारेमा अन्तरसरकारी निकायहरूबीच नै प्रस्टताको अभावले ठूलो परिमाणमा भेप आयात भइरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । यसअघि चोरी निकासी गर्दै स–साना परिमाणमा भेप बरामद हुन्थ्यो । तर स्वास्थ्य मन्त्रालयले निर्देशनका आधारमा भेपको जाँचपास रोकिएको थाहा हुँदाहुँदै व्यवसायीले किन करोडौं मूल्य पर्ने भेप नियमित सामान जसरी भित्र्याउने प्रयास गरे भन्ने प्रश्नको उत्तर भने पाइएको छैन ।

अर्थ र वाणिज्य मन्त्रालयले भेप आयात वैध हो कि अवैध भन्ने प्रश्नको यकिन उत्तर नदिएका कारण भेप आयातका विषयमा सरकारी अलमल सार्वजनिक भएको छ । भन्सारका अधिकारीहरू स्वास्थ्य मन्त्रालयका पत्रका आधार भेप आयात रोकिए पनि बरामद भएका भेप लिलाम गर्ने कि नष्ट गर्ने भन्ने द्विविधा कायम रहेको बताउँछन् । अर्थ सचिव घनश्याम उपाध्यायले आफूलाई यो विषयमा धेरै जानकारी नभएकाले भन्सार महानिर्देशकसँग जानकारी लिने बताए ।

भन्सारका अधिकारीहरु भने माथिल्लो निकायको लिखित आदेशविना भेपको जाँचपास गर्न नसक्ने बताउँछन् । भन्सार विभागमा महानिर्देशक महेश भट्टराई सरकारको एउटा निकायको पत्रका आधारमा पैठारी रोकिएकाले भेपलाई अवैध मान्नुपर्ने बताउँछन् । गत वैशाखमा स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य वस्तुको आयात र कारोबार रोक्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । मन्त्रालयको राष्ट्रिय स्वास्थ्य तथा सञ्चार केन्द्रले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका-२०७१ मा उल्लेखित प्रावधान उल्लेख गरेर लेखेको पत्रका आधारमा भेप पैठारी रोकिँदै आएको हो । 

‘भन्सारले जाँचपास नगर्ने मालवस्तुको आयात भन्सारलाई नै जानकारी दिएर नेपाल भित्र्याउन पाइन्छ ?,’ महानिर्देशक भट्टराई कन्टेनरमा भेप राखेर भन्सार छिराएको घटनाको छानबिन गर्न तातोपानी भन्सारलाई निर्देशन दिएको बताए ।  उनले भने, ‘कतै भन्सारले थाहा पाएका कारण आयातकर्ताले आफ्नो सामान जोगाउन खोजेको त हैन त्यसको पनि अनुसन्धान हुन्छ ।’

सरकारले अर्को लिखित आदेश नगरेसम्म भन्सारले भेपको जाँचपास गर्न सक्ने अवस्था छैन । तर यस्तो अवस्थामा व्यवसायीले किन करोडौं मूल्यको जोखिम लिए होलान त ? भन्सार विभागका महानिर्देशक भट्टराईले यस विषयमा अनुसन्धान हुने बताए । 

गत आर्थिक वर्षमा तातोपानी भन्सारबाट ३० करोड ३८ लाख मूल्यबराबरको भेप आयात भएको थियो । त्यसबाट  १९ करोड ४३ लाख राजस्व संकलन भएको भन्सारले जनाएको छ । गत आवमा रसुवा भन्सारबाट करिब ६ करोड मूल्य बराबरको भेप आयात भएको थियो । रसुवाबाट ३ करोड ८१ लाख १७ हजार राजस्व संकलन भएको थियो । तर धमाधम भएको भेप आयातमा एक्कासि ब्रेक लाग्यो । त्यसपछि सुरु भयो अवैध आयातको क्रम । स्वास्थ्य मन्त्रालयको पत्रका आधार भेप आयात अवरुद्ध भए पनि बजारमा भेपको खुलमखुल्ला बिक्री भइरहेको छ ।

प्रहरीले गत पुसमा कोरोला नाकाबाट भित्रेको १९ हजार थान भेप बरामद गरेर मुद्दा चलाएको छ । गत साउनमा वीरगन्ज भन्सारको मूल गेटबाट भारततर्फ लैजान लागेको ४ सय ५० थान भेप बरामद भएको थियो । त्यहीबेला वीरगन्जमा भारतीय नागरिकबाट १५ सय २ थान भेप बरामद भएको थियो । गत पुसमा राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि १३ कार्टुन भेप बरामद गरेको थियो ।

भेप बरामदका एकपछि अर्को घटनाबाट भेपको चोरीपैठारी जारी रहेको सहजै बुझिन्छ । एकातिर सरकारले भेपको आयात रोक्ने तर बजारमा खुद्रा किनबेच भने खुल्ला गर्ने दोहोरो नीति लिइराखेको छ । अर्कोतिर भेपको अवैध आयातका घटना एकपछि अर्को गर्दै भइरहेका छन् । आयात-निर्यातको कारोबारमा संलग्न एक व्यापारीले भने, ‘सरकारले आयातकर्ताको पक्षमा केही न केही निर्णय गर्ने विश्वासमा भेपमा लगानी भएको हुनुपर्छ । नत्र कसैले करोडौंको लगानी डुबाउन लगानी गर्दैन ।’

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully