महिलाले अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आयो : अध्यक्ष दाहाल

चैत्र २०, २०८१

रुपा गहतराज

The time has come for women to lead the socialist revolution: President Dahal

नेपालगन्ज — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिलाले अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताएका छन् । 

अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो प्रदेश सम्मेलन बुधबार कोहलपुरमा उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले हिजोका दिनमा क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताएका हुन् । नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन देशभित्र मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको उनले उल्लेख गरे ।

‘हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको हो’, उनले भने,‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत हो ।’

उनले 'जनयुद्ध'बाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी अवश्य रहेको स्वीकार गरे । उनले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताए ।

उनले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको सुनाए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully