काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको बताएका हुन् ।
'फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उहाँलाई दुख्नु पर्दैन र ? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भीर गल्ती भएको महसुस भएको छ भनेर बोल्नु पर्दैन र ? संवेदनशीलता नै देखिएन नि,' महामन्त्री शर्माले भने ।
पितृसत्तात्मक राजतन्त्रमा महिलालाई कुनै अवसर नभएको उल्लेख गर्दै महामन्त्री शर्माले भने, 'राजालाई राजगद्धीमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति । के यो देश पुरुषको मात्रै हो र ? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि । तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ ।' नेता र सरकारप्रति असन्तुष्टि भएकाले त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताए । '०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं नि तर राजगद्धीमा बसेको राजालाई त परिवर्तन गर्न सकिदैन नि,' उनले भने ।
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा महामन्त्री शर्माको जोड छ ।
