थाइल्यान्डमा नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण

बिमस्टेक साइडलाइनमा मोदीसँगको भेट अनिश्चित 

चैत्र २०, २०८१

राजेश मिश्र

Nepali Prime Minister's first official visit to Thailand

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन मंगलबार थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डको औपचारिक भ्रमणसँगै प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । 

प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार साँझ स्थानीय समयअनुसार सवा ६ बजे ओली नेतृत्वको टोली बैंकक पुगेको हो । बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङग्राउग्रेङकिट र संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितका अधिकारीहरूले स्वागत गरेका थिए । 

थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । नेपाल र थाइल्यान्डबीच ६५ वर्षअघि नै कूटनीतिक सम्बन्ध स्थापना भए पनि प्रधानमन्त्री तहमा औपचारिक भ्रमण भएको थिएन । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले थाइल्यान्डको भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा. सहभागिता प्रधानमन्त्री ओलीको भ्रमणको दुई उद्देश्य रहेको बताए । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भएकाले यसबाट दुई देशबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास राखिएको उनले जनाए । 

बुधबारबाट ओलीको औपचारिक भेट र द्विपक्षीय वार्ता सुरु हुनेछन् । प्रधानमन्त्री ओलीले बुधबार थाइल्यान्डका नरेश र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री ओलीले सोमबार संसद्लाई जानकारी गराएअनुसार पर्यटन र संस्कृतिका सन्दर्भमा २ वटा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर हुनेछ । 

त्यस्तै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै ओलीले संयुक्त प्रेस ब्रिफिङ गर्नेछन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान थाइल्यान्डका व्यवसायीहरूसँग भेट्ने र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ बिमस्टेक शिखर सम्मेलनका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिइने रात्रिभोजमा ओली सहभागी हुनेछन् । 

शुक्रबार बिहान प्रधानमन्त्री ओली ‘मेरी टाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुने र बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनमा भाग लिने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/प्रधानमन्त्रीसँग ओलीले ‘साइडलाइन’ बैठक गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठक बहुप्रतीक्षित मानिएको छ । 

सम्मेलनको समापनपछि शुक्रबार मोदीसँग भेटको सम्भावना छ । त्यसका लागि कूटनीतिक तहबाट प्रयास गरिए पनि अहिलेसम्म भेट हुने तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले विभिन्न सरकार र राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटको सम्भावना रहेको बताए । उनले को–कोसँग भेटघाट तय भएकोबारे अहिले स्पष्ट नभएको बताए । 

सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म विभिन्न मुलुकका नेताहरूसँग साइडलाइन वार्ताको तयारी रहेको बताएका थिए । समयको चाप रहेकाले सम्भव भएसम्मका साइडलाइन भेटघाट हुने उनले उल्लेख गरेका थिए । उनले पनि को–कोसँग भेट हुने खुलाएनन् । ओली प्रधानमन्त्री भएको साढे ८ महिना पुगेको छ । यस अवधिमा उनले भारत भ्रमणको निम्तो पाएका छैनन् । त्यसलाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा ओलीको भारतसँग सम्बन्ध चिसो रहेको रूपमा अर्थ्याइने गरेको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच छुट्टै भेट हुने/नहुने विषयलाई चासोका साथ हेरिएको छ । 

यसअघि, गत असोजमा न्युयोर्कमा ओली र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यतिबेला संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको थियो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्दै छन् । 

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा छन् । त्यस्तै, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई टोलीमा छन् । सरकारी टोलीमा ३ जना पत्रकारसहित २३ जना छन् ।

त्यस्तै निजी क्षेत्रबाट २७ जना सहभागी छन् । प्रधानमन्त्रीले थाइल्यान्ड सरकारसँगको द्विपक्षीय वार्ता र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने दुई अलग अलग कार्यक्रम रहेकाले त्यसलाई आवश्यक पर्ने अधिकारीहरू भ्रमण दलमा सहभागी रहेको परराष्ट्रका प्रवक्ता ढकालले बताए । चैत २३ मा प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम छ । 

गतसाता म्यानमारमा आएको विनाशकारी भूकम्पलगत्तै बिमस्टेक शिखर सम्मेलन हुँदै छ । भूकम्पको असर थाइल्यान्डमा पनि परेको थियो । दुवै राष्ट्र बिमस्टेकका सदस्य हुन् । त्यसबाहेक बंगलादेश, भुटान, भारत, नेपाल, श्रीलंका सदस्य छन् । भूकम्पका कारण सम्मेलन सर्ने आशंका गरिए पनि म्यानमार सहभागी हुने र आयोजक राष्ट्र तयार देखिएपछि सम्मेलन निर्धारित मितिमै हुन लागेको हो । 

यसअघि भदौ १८ र १९ मा शिखर सम्मेलनको मिति निर्धारित थियो । तर, थाइल्यान्डमा भएको राजनीतिक उतारचढावले त्यतिबेला हुन सकेन । थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँको निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई पदमुक्त गरेपछि उत्पन्न राजनीतिक उथलपुथलले शिखर सम्मेलन स्थगित भएको थियो । पछि सबै सदस्य मुलुकसँगको सल्लाहपछि नयाँ मिति तय गरिएको थियो । 

मार्च ३०, २०२२ मा कोलम्बोमा भर्चॅअल रूपमा आयोजित पाँचौं शिखर सम्मेलनको तीन वर्षपछि आयोजना हुन लागेको यस पटकको मूल नारा ‘समृद्ध, लचिलो र खुला बिमस्टेक’ रहेको छ । बिमस्टेक सचिवालयका अनुसार शिखर सम्मेलनपूर्व चैत २२ मा बिमस्टेकका वरिष्ठ अधिकारीहरूको र चैत २३ मा बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको बैठक हुनेछ । 

पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण पछिल्लो समय भारतले दक्षिण पूर्वी एसियाका राष्ट्रहरू सदस्य रहेको बिमस्टेकलाई महत्त्व दिँदै आएको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully