राजविराज — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीलाई बदमासहरूको जमातका संज्ञा दिएका छन् । अध्यक्ष नेपालले बुधबार सप्तरीको राजविराजमा आयोजना गरिएको पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘राजावादीले मच्चाएको विध्वंस हेर्नु भएन ?, उनीहरू राम्रो काम गर्ने मानिस हुँदै होइन, बदमासहरूका जमात हुन्, गुण्डागर्दी गर्ने मानिस हुन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘तोडफोडकारी जमातले हाम्रो पार्टी कार्यालयबाट पनि कम्प्युटर, प्रिन्टर, पंखासहितका समान चोरेर भाग्यो ।’
सचेत नागरिकले कदापि पनि विध्वंसकारी जमातलाई स्वीकार नगर्ने अध्यक्ष नेपालको दाबी छ । ‘उनीहरूले तालिम दिएका नेता कार्यकर्ता नै हुन् तोडफोडकारी, सिकाएको कुरा नै चोरी गर्, लुटपाट मच्चाउ, निजी घरमा आक्रमण गर, मिडिया हाउस र पार्टी कार्यालयमा आक्रमण गर्,’ उनले भने, ‘त्यस्तालाई सचेत नागरिकले स्वीकार्छ त, कदापि होइन ।’
अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावी प्रतिस्पर्दाको मैदानमा आउन सुझाव समेत दिए । ‘उनी निर्वाचनको माध्यमबाट जनताले शासन गर्ने प्रणालीलाई समाप्त पार्न खोजिरहेका छन्,’ उनले भने, ‘होइन भने, जनतामाथि विश्वास छ भने पार्टी खोलेर चुनावी मैदानमा आऊ, अनि बहुमत ल्याऊ,’ उनले थपे, ‘योजना अघि सारेर जनताको मन जितेर अगाडि बढ्नुपर्नेमा विध्वंस मच्चाएर हुन्छ ?’
