राप्रपा सांसद बोहराको अन्त्येष्टि

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Funeral of RP MP Bohra

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा बोहराको मङ्गलबार निधन भएको थियो । 

सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए ।

सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर नेता बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) सचिव योगेश भट्टराई र राप्रपाका नेता तथा कार्यक्रताले बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

कान्तिपुर

Link copied successfully