काठमाडौँ — राजावादीले चैत १५ मा तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रमा गरेको ढुंगामुढा, आगजनी, लुटपाटलगायतका घटनाबारे गृहमन्त्री रमेश लेखकलाई संसदीय समितिमा बोलाउनुपर्ने माग भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले गृहमन्त्री लेखकलाई १५ गतेको घटनाबारे जवाफ दिनका लागि बोलाउनुपर्ने माग भएको हो ।
कांग्रेस सांसद हृदयराम थानीले उक्त घटना सम्बन्धमा गृहमन्त्री बोलाउन माग गरेका हुन् । '१५ गतेको घटना के कारणले भयो ? गृहमन्त्रीलाई बोलाएर सोध्ने व्यवस्था गर्नुपर्यो सभापतिज्यू । प्रधानमन्त्रीलाई नै बोलाएर सोध्नुपर्ने थियो तर अहिले गृहमन्त्रीलाई यो समितिले नै बोलाउनु पर्छ,’ उनले भने ।
कांग्रेसकै सांसद सरिता प्रसाईंले पनि उक्त घटनाबारे गृहमन्त्रीलाई बोलाएर सोध्नुपर्ने बताइन् । विभिन्न विषय सार्वजनिक भएकाले उक्त घटनाको छानबिन हुनुपर्ने उनको भनाइ छ ।
कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि तीनकुने घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरे ।
एमाले सांसद राजेन्द्र राईले पनि तीनकुने घटनाबारे गृहमन्त्रीको जवाफ खोज्नुपर्ने सांसदहरूको धारणाको समर्थन गरे ।
राप्रपा सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा आफ्नो पार्टीलाई पनि जोड्ने गरिएकोमा आपत्ति जनाए । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन आयोग गठन हुनुपर्ने उनको माग थियो ।
