न्यायको याचना गरिरहेकी अर्चना

गत फागुन २ गते होलीका दिन उनका १७ वर्षीय छोरा आशु यादवको हत्या भएको थियो । तर, हत्याका आरोपीहरू भने अझै फरार छन्, परिवार न्यायको लागि याचना गरिरहेको छ

चैत्र २०, २०८१

कमलेश ठाकुर

Archana pleading for justice

जनकपुरधाम — आँगनमा प्रवेश गर्ने बित्तिकै अर्चना भक्कानिएर रुन्छिन् । रुँदारुदै उनको घाँटी बसिसकेको छ, आँखा सुन्निएर राता भएका छन्। श्रीमान् बितेपछि छोरो आशु नै उनको बाँच्ने सहारा बनेको थियो। तर छोराको पनि अप्रत्यासित मृत्यु भएपछि अर्चना बेहोस् छिन्। न्यायको लागि याचना गरिरहेकी छन्।

हजुरआमा पवनदेवी छिनछिनमै नाति मारिएको खबर सम्झिएर मुर्छा पर्छिन्। काकाद्वय बब्लु यादव र लालबाबु यादव पनि अचेत छन्। घटनाबारे केही सोध्यो कि उनीहरूका आँखा पनि रसाइहाल्छन् ।

यी दृष्य हुन्, जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीकी अर्चना यादव परिवारका । उनको परिवार शोकमा डुबेको तेस्रो साता बित्दै छ। अर्चना न्याय पाउन प्रहरीले दिइरहको दिन गन्दै बसिरहेकी छन्। तर, उनलाई न्याय दिलाउने कसैले विश्वस्त बनाउन सकेका छैनन्।

गत फागुन २ गते होलीका दिन उनका १७ वर्षीय छोरा आशु यादवको हत्या भएको थियो । तर, हत्याका आरोपीहरू अझै फरार छन् । गत दशैंमै आशुका बुबा पप्पु यादवको क्यान्सरबाट निधन भएको थियो। त्यसयता छोरा आशुलाई नै जीवनको सहारा बनाएर अर्चना जीवन व्यतित गरिरहेकी थिइन् । तर, एक्लो छोरालाई गाउँकै पापीले खाएको उनको गुनासो छ। ‘मेरो दुर्गति त्यही दिन सुरु भयो,’ अर्चनाले श्रीमान् निधन भएको सम्झिँदै भनिन्,‘भएको एक्लो साहारा पनि पापीहरूले खोसिदिए।’

प्रहरीले हत्याका आरोपीहरूलाई पक्राउ गर्न अटेरी गरेको भन्दै पीडित परिवार नियमित प्रहरीलाई खबरदारी गर्दै आएका छन् । प्रहरीले अनुसन्धानमा चासो नदेखाएको उनीहरूको आरोप छ । पीडित परिवारले स्थानीयको सहयोगमा जनकपुर–जलेश्वर सडक खण्ड दुई दिन बन्द गरेर प्रर्दशनसमेत गरे । तर, प्रहरीले मौखिक रुपमा अनुसन्धान तीब्र गतिमा भइरहेको बताए पनि बेवास्ता गर्दै आएको मृतक आशुको काका बब्लुले सुनाए ।

Archana pleading for justice

‘गएको आइबार पनि हामीले सडक जाम गरेर प्रर्दशन गर्‍यौं । प्रहरीले बल प्रयोग गरेर सडक जाम खोल्न लगायो,’ उनले भने, ‘हामीलाई छलफलमा बोलाएर मौखिक रुपमा तीन दिनको समय माग्नुभयो । हामीले लिखित माग्दा दिएनन् । फेरि अहिले हत्याका आरोपी खुलेयाम घुम्दै छन् ।’ प्रहरी आरोपीसँग मिलेको उनीहरूको अशांका छ । सात जनालाई आरोपी बनाएर जिल्ला प्रहरी धनुषामा जाहेरी दर्ता गराएको उनले जानकारी दिए ।

प्रहरीले समयमा आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि नबढाउँदा आफ्नो परिवारलाई झन् खतरा बढेको बताए । स्थानीय विजयकुमार कापडीले एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेर त्यही समय छोडेको बताए । ‘घटनाकै दिन प्रहरी आयो । मुख्य आरोपीलाई पक्राउ गरेर घटनामा संलग्न रहेको अधारमा एक जना अझै पक्राउ गरेर गाडीमा बस्न लगायो,’ उनले भने,‘एकछिनमा त्यो व्यक्तिलाई प्रहरीले त्यहीबाट छोडदियो । अहिले त्यो व्यक्ति फरार छ । त्यसकारण यस घटनामा प्रहरी मिलेको प्रष्टै देखिन्छ ।’

कसरी भयो घटना ?

मृतक आशु कक्षा ८ मा अध्यनरत्त थिए । याज्ञवल्क्य संस्कृत मावि जनकपुरधाममा अंग्रेजी माध्यममा पढ्दै थिए । उनको घर जनकपुर–जलेश्वर सडक खण्ड अन्तरगतको बिन्धी चोकबाट सय मिटर पुर्वमा छ । त्यही सडक खण्डमा अन्य समूह पनि होली खेल्दै थिए । कोही जर्वजस्ती रंग लगाउँदै थिए त कोही उम्किएर भाग्दै थिए । भाग्दै गरेका एक युवा थिए, २१ वर्षीय धमेन्द्र महतो । उनलाई आशुले अगाडीबाट रोक दिए ।

त्यही बीच धमेन्द्रका अन्य साथी आएर उनले लगाएको होलीको कुर्ता च्यातिदिए । त्यही कुर्ता च्यात्न आशुले सघाएको भन्दै धमेन्द्र र उनका अन्य साथीले बदला लिने तयारी गरे । उक्त विवादको केही समयपछि आशुको छुरा प्रहार गरी हत्या गरिदएको स्थानीय विजय कापडले बताए । उनलाई बचाउन प्रयास गरेका राजन महतोलाई समेत छुरा प्रहार गर्ने प्रयास गरिएको थियो । राजनसहितका व्यक्तिले आशुलाई अस्पताल पुर्‍याएका थिए । 

Archana pleading for justice

जिल्ला प्रहरी धनुषामा किटानी जाहेरी दर्ता भएको १७ दिन भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार घटनाका मुख्य आरोपी प्रहरी नियन्त्रणमा छन् । अन्य आरोपीहरू फरार छन् ।

‘हाम्रो अनुसन्धान जारी छ । अन्य आरोपीहरू पनि फरार छन्,’ उनले भने, ‘त्यसकारण धेरै कुरा खुल्न बाँकी छ । फरार आरोपीहरू नेपाल बाहिर भएको हुनाले प्रहरीलाई समय लागि रहेको छ ।’ भारतीय प्रहरीसँग समन्वय गरिरहेको एसपी तिवारीको भनाइ छ । प्रहरीले आफ्नो काम गरिरहेको र प्रहरी आरोपीसँग मिलेको आरोप निराधार रहेको उनले प्रष्टाए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully