सरकार मुद्दालाई हतियार बनाउन खोज्दै छ : सभापति रवि

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

The government is trying to make the case a weapon: Speaker Ravi

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गर्दै बसेको टिप्पणी गरे ।

सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए ।

सभापति लामिछानेले भने, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् नै हो। सदनको यो सत्रको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ। अदालतको ढोकामा पुऱ्याइएको मुद्दाका आधारमा निलम्बन हुनुहुँदैन भनेर कानुनी कुरा राखेको थिएँ। एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झगडा नै गर्ने भन्ने हुँदैन। पहिलो संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो। म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ।'

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुङ्गिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए । उनले पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे । उनले तीनकुने घटना पनि सरकारकै तर्फबाट भएको टिप्पणी गरे। उनले सबै कुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषय छोप्ने प्रयासमा लागेको आरोप लगाए ।

उनले भने, 'मैले सकेसम्म कानुनी प्रक्रियाहरू टुङ्गिउन्, मुद्दा कहाँ लगाउने हो लगाओस्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हुँ। अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ। तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ। मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन। सबै थाहा छ, जगजाहेर छ। सरकार ‘छोपेका छौँ’ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ। सरकार ‘छोपेँ’ भन्छ, यही तीनकुनेले छोपेको जस्तो। नाङ्गो भइसक्यो, देखिएको छैन।'

कान्तिपुर

Link copied successfully