काठमाडौँ — कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले रेविका खत्रीको न्यायका लागि प्रदर्शन गरेका छन् । चैत १५ मा तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा प्रहरीले गोली लागी उनी गम्भीर घाइते भएकी थिइन् । उनको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनका क्रममा विद्यार्थीले मंगलबार जडिबुटीमा केहीबेर चक्काजामसमेत गरे । कोटेश्वरमा कोणसभा गर्दै उनीमाथि गोली प्रहार गरिनु खेदजनक रहेको बताए ।
आन्दोलनका दिन रेविकालाई कोटेश्वरको भाटभटेनी नजिकै हिँडिरहेका बेला गोली लागेको थियो ।
क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले निर्दोष विद्यार्थीमाथि गोली प्रहार हुनु खेदजनक रहेको बताए । ‘यदि रेविकाको खर्च सरकारले लिन मानेन भने थप न्यायका लागि आवाज उठाइरहने छौं,’ कोणसभामा बोल्दै बुढाथोकीले भने ।
रेविका कोटेश्वर बहुमुखी क्याम्पस बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।
- अभिषेक अधिकारी (प्रशिक्षार्थी)
