विराटनगर — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशनास गर्नेहरूलाई फेरि ल्याएर पुनः दास बन्ने बाटोतिर नलाग्न जनतालाई आह्वान गरेका छन् ।
'२४० वर्ष शासन गरेको वंशवादी परम्पराबाट जनताले फेरि के खोजेको के हो?,' नेपालले भने, 'फेरि दास हुन खोजेको हो? पछाडि फर्किन खोजेको हो ?'
सयौं वर्ष राजा र राणाले देशलाई लुट्ने, चुस्नेबाहेक कुनै काम नगरेको आरोप लगाउँदै नेपालले भने', फेरि जनता यस्तै लुटेरा, हत्याराको पछि किन लाग्नु पर्यो ।'
नेकपा एकीकृत समाजवादी मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा उद्घाटन गर्दै नेपालले अँध्यारो युगमा फर्किन नसक्ने बताउँदै दल र नेताहरू त्रुटि कमजोरीलाई जोगाएर हैन, सुधारेर अघि बढ्नु पर्ने बताए। उनले एमाले-कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको उनको आरोप थियो ।
पुष्पकमल दाहाललाई धोका दिएर बनेको यो गठबन्धनलाई कुटिलको संज्ञा दिँदै गठबन्धनले संविधान संशोधनको नाटक मात्रै गरेको आरोप लगाए। 'स्वार्थको मेल भएर एमाले-कांग्रेस जुटेका हुन्,' उनले थपे,'सरकार नियत ठीक छैन।'
तीनकुनेमा राजावादीको उदण्डता र समाजवादी मोर्चाको सभाबाट जनताले वास्तविक थाहा पाएको जनाए। 'हामीले शालीनतापूर्वक कार्यक्रम गर्दा तीनकुनेमा के भयो? कति उदण्डता भयो। कति जनधनको क्षति भयो ? अब जनतालाई झुक्याउने चेष्टा नगरे हुन्छ,' उनले भने ।
