प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा 

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Kathmandu ranks third in the list of most polluted cities

काठमाडौँ — देशको राजधानी काठमाडौं सहर विश्वकै प्रदूषित सहरको तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार दिउँसो ४ः४५ मा मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५० पुगेको हो । 

विश्वको वायु गुण्स्तर मापन गर्ने साइट एयर क्वालिटी एयरको अनुसार पहिलो स्थानमा बंगलादेशको राजधानी ढाका र दोस्रोमा भियतनामको राजधानी हनोई रहेको छ । ढाकाको एक्यूआई १६६ र हनाईको १५४ रहेको छ । 

केही दिनयता काठमाडौंको वायुमण्डल खराब भएसँगै हावा प्रदूषित भएको हो । यसैगरी सोमबार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो नम्बरमा आएको थियो । 

पर्याप्त वर्षा नहुँदा हिउँदमा काठमाडौं उपत्यकाको आकाश प्रदूषित हुने गर्दछ । ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ ।

स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा अधिकतम १२०.५७ रहेको पाइने गरेको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् ।

Kathmandu ranks third in the list of most polluted cities

कान्तिपुर संवाददाता

Link copied successfully