कमलको ‘क्रान्तिकारी’ चोला

कोइराला बहुआयामिक व्यक्तित्व थिए। राजनीतिक रूपमा कोइराला परिवारको परम्परागत धारभन्दा भिन्न मार्ग अवलम्बन गर्दै कम्युनिस्ट आन्दोलनमा होमिएर मात्र होइन, पत्रकारिता र वकालती क्षेत्रमा पनि उनी उत्तिकै सशक्त रूपमा क्रियाशील थिए।

चैत्र १९, २०८१

पर्वत पोर्तेल

Kamal's 'revolutionary' chola

विराटनगर — कमल कोइराला, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका माइला छोरा हुन्। बीपी, गिरिजाप्रसाद कोइरालाका भतिज। एकै परिवारका तीन दाजु-भाइ प्रधानमन्त्री भएको कीर्तिमानी कोइराला परिवारका यी पात्र भने विल्कुल भिन्न थिए। सिंगो कोइराला परिवारको राजनीतिक पृष्ठभूमि कांग्रेस हो।

तर, उनी यस्ता पात्र हुन् जो कोइराला परिवारको राजनीतिक विरासतलाई चुनौती दिँदै कम्युनिस्ट बने।

सधैँ मातृका पुत्रको आफ्नै छवि पनि थियो। उनी कोइराला परिवारका एक्ला कम्युनिस्टको रूपमा चिनिएका थिए। सिंगो परिवार एकातिर र उनी एक्लै अर्कातिर थिए। कोइराला परिवारका यी बागी नेता आइतबार साँझ काठमाडौँमा अस्ताए । गत मंगलबार घरमै लडेर पक्षाघात भएपछि उपचाररत उनको अस्पतालमै निधन भएको हो। उनी ८७ वर्षका थिए।

हो, कमल कोइराला नेपाली राजनीतिका एक अनौठा पात्र थिए। लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व गर्दै आएको कोइराला परिवारको राजनीतिक प्रवाहबाट उनी अलग भई कम्युनिस्ट विचारधारालाई अंगाले।

कोइरालाको कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षण केवल राजनीतिक बौद्धिकता मात्र थिएन, उनले आफ्नो राजनीतिक यात्रा नै वामपन्थी धारतर्फ मोडिदिए। उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नेतृत्व प्रदान गर्दै नेकपा (एमाले) मा लामो समय विशेष भूमिका निर्वाह गरे। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीतिर संगठित थिए।

‘उहाँको विचार, राजनीति र परिवारबीचको अन्तर्विरोध नेपाली राजनीतिक इतिहासमा एउटा अध्ययनयोग्य विषय हो,’ समकालीन राजनीतिका योद्धासमेत रहेका राजनीतिकशास्त्री प्रा. कृष्ण पोखरेलले भने, ‘सिंगो कोइराला परिवार कांग्रेसको मूलधारमा रहे पनि उहाँले कम्युनिस्ट आस्था र निष्ठा कहिल्यै छाड्नु भएन।’

कोइराला बहुआयामिक व्यक्तित्व थिए। राजनीतिक रूपमा कोइराला परिवारको परम्परागत धारभन्दा भिन्न मार्ग अवलम्बन गर्दै कम्युनिस्ट आन्दोलनमा होमिएर मात्र होइन, पत्रकारिता र वकालती क्षेत्रमा पनि उनी उत्तिकै सशक्त रूपमा क्रियाशील थिए।

दक्षिण कोरियाका लागि राजदूतका रूपमा उनको नियुक्ति नेपाली कूटनीतिक वृत्तमा पनि विशेष चासोको विषय रह्यो। तर, उनको वास्तविक पहिचान राजनीतिक र वैचारिक प्रतिबद्धताका कारण नै बनेको थियो।

२०७८ सालमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा उनको सक्रिय सहभागिता यो प्रमाणित गर्छ कि उनले जीवनभर सत्ता र व्यवस्था भन्दा पनि न्याय र मूल्य मान्यताका पक्षमा दृढ अडान लिए। कानुन व्यवसायी सम्मेलनदेखि नेपाल बार एसोसिएसनको आन्दोलनसम्म उनको निरन्तरको उपस्थितिले कानुनी न्याय प्रणालीमा उनको सचेतता दर्साउँछ।

पत्रकारितामा पनि उनले प्रखरता देखाए। सधैँ विचार र विवेकसहितको लेखनलाई पाठकमाझ पस्किए। ‘कानुन व्यवसायी, पत्रकार र राजनीतिक अभियन्ता सबै भूमिकामा उहाँ सशक्त हुनुहुन्थ्यो,’ कोइरालालाई नजिकबाट बुझेका लेखक सीमा आभासले भनिन्, ‘नेपाली राजनीतिको एउटा फरक धरोहरका रूपमा कमल कोइरालाको योगदान सधैँ सम्झन योग्य रहनेछ।’

कोइरालाको परिवारभित्रकै राजनीतिक तनाव र द्वन्द्व नेपाली राजनीतिमा एउटा रोचक अध्ययनको विषय हो। कोइराला परिवारलाई नेपाली कांग्रेसको नेतृत्व गर्ने ऐतिहासिक परिवारको रूपमा हेरिन्छ, तर यही परिवारभित्र वैचारिक तथा राजनीतिक ध्रुवीकरणका गहिरा सङ्केतहरू देखिएका थिए।

वि.सं. २००८ सालमा बीपी कोइरालाले गृहमन्त्रीबाट राजीनामा दिएपछि उनका दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने। मातृका कोइरालाले दरबारसँग सहकार्य गर्दै शासन सत्ता सम्हाले, जसलाई बीपी कोइरालाले घोर असहमति जनाए। यसैकारण कोइराला परिवारभित्र गहिरो दरार उत्पन्न भयो। बीपीले मातृकाको दरबारसँगको निकटतालाई धोका र अवसरवादका रूपमा लिएका थिए।

कोइरालाले एक अन्तर्वार्तामा भनेका थिए, ‘बुबा महत्त्वाकाङ्क्षी हुँदा दरबारले हात लियो।’ मातृकाको दरबार प्रवेशपछि बीपी कोइरालाको आक्रोश स्वाभाविक थियो, किनभने उनले कांग्रेसको लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई उच्च प्राथमिकता दिएका थिए, जबकि मातृका कोइरालाले राजासँग सहकार्य गर्ने बाटो रोजे। मातृका-बीपीबीचको यो द्वन्द्वले कोइराला परिवारलाई मात्र होइन, नेपाली कांग्रेसलाई लामो समयसम्म असर गरिरह्यो। कालान्तरमा कमल कोइराला विचार धारात्मक परिवर्तन गरी कम्युनिस्ट बन्दा धेरैले पारिवारिक-राजनीतिक तनावकै निरन्तरताको एक रूप बुझे।

कमल कोइरालाको राजनीतिक यात्रामा एउटा रोचक मोड उनको विद्यार्थी जीवनमै आयो। त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा उनी कम्युनिस्ट विचार बोकेका सहपाठीहरूसँग नजिकिए, जसले उनको राजनीतिक धारणा नै परिवर्तन गरिदियो।

त्यस समय नेपालमा कम्युनिस्ट आन्दोलन भूमिगत थियो र खुला रूपमा सभा-सभा गर्न प्रतिबन्ध थियो। कलेजका विद्यार्थीहरूले तत्कालीन सत्ताविरुद्ध ‘जनअधिकार सुरक्षा समिति’ मार्फत प्रदर्शन गरे, जसमा उनी पनि सहभागी भए। तर, उनलाई सुरुआतमा थाहा थिएन कि यो संगठन कम्युनिस्टहरूकै थियो। प्रहरी धरपकडमा परेर एक हप्ता जेल परेपछि मात्रै उनलाई यसको वास्तविकता थाहा भयो। त्यही घटनापछि उनी वामपन्थी विचारधारा प्रति अझ बढी आकर्षित भए।

कम्युनिस्ट पार्टी प्रतिबन्धित भएकाले त्यस बेला खुलेर लाग्न कठिन थियो, तर बिस्तारै उनले कम्युनिस्ट आन्दोलनलाई आफ्नो मार्ग बनाउने निर्णय गरे। २०१२ सालमा नरबहादुर कर्माचार्यले उनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए।

छोराको वामपन्थी झुकावप्रति चिन्तित भएर मातृकाले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारत पठाए। उनले बनारस हिन्दु विश्वविद्यालयबाट बीए सकेर इलाहावाद विश्वविद्यालयमा एमए गर्न थाले। तर, यहीबीचमा नेपालमा ठूलो राजनीतिक परिवर्तन आयो—राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गर्दै प्रजातान्त्रिक व्यवस्था समाप्त गरे।

कमल कोइरालाको राजनीतिक यात्रा संघर्ष, विचार धारात्मक अडान, र परिवारभित्रैको प्रतिस्पर्धाले भरिएको थियो। भारतबाट उच्च शिक्षा पूरा गरेर नेपाल फर्किएपछि उनले निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे।

अब, उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन्। तर, उनको जीवन र संघर्ष नेपाली राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहनेछ। 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully