नेपाललाई अस्थिर बनाइराख्न भारतले पूर्वराजालाई प्रयोग गर्न खोज्यो : भुसाल

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

India tried to use the former king to keep Nepal unstable: Bhusal

विराटनगर — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भारतको काम नेपाललाई अस्थिर र कमजोर पार्ने अनि फाइदा लिइराख्ने आरोप लगाएका छन् ।

एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै उनले नेपाललाई अस्थिर र गन्जागोल बनाइराख्ने र त्यसबाट फाइदा लिइराख्ने भारतको नीति रहेको बताए ।

'राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही हो । यसका लागि पूर्वराजालाई प्रयोग गर्न खोजिएको छ, लफंगाहरूलाई प्रयोग गर्न खोजिएको छ,' उनले भने ।

उनले मुलुकमा आतंक फैलाएर जनतालाई आतंकित पार्ने षड्यन्त्र सुरु भएको पनि बताए । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको उनको भनाइ थियो । 'पश्चगामी तत्वले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेका छन्,' उनले भने, 'यो सामान्य कुरा होइन, यसलाई निस्तेज पार्न गणतन्त्रवादी एकढिक्का बन्नुको विकल्प छैन ।'

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले 'सुखी नेपाल, समृद्ध नेपाली' को नारालाई बदनाम गरेको बताए । 'सुखी नेपाल, समृद्ध नेपालीको सार छाड्नु भो, अहिले नारा मात्रा बोकेर हिँडिरहनुभएको छ,' उनले भने । चुच्चे रेल, भ्यु टावर, पानीजहाजजस्ता हावादारी गफमा जनता अलमलिएको बताउँदै उनले थपे, 'मूलभूत कमजोरी त्यहीँ भयो ।'

जनताका छोराछोरीले पढ्न पाउँछन्, स्वास्थ उपचार हुन्छ, काम गरेर यही बाँच्न पाउने अवस्था हुन्छ भन्ने कुराको ग्यारेन्टी  नभएसम्म पुनर्उत्थानवादी र पपुलिस्टहरूलाई रोक्न सकिने र गणतन्त्रलाई बलियो बनाउन नसकिने भुसालले बताए ।

कान्तिपुर

Link copied successfully