समाजवादी मोर्चाले भन्यो : राजावादीको आन्दोलन जंगली चरित्रको

खतराप्रति जनता परिचालन गर्ने

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Samajwadi Morcha said: The royalist movement is of wild character

काठमाडौँ — समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलन जंगली चरित्रको रहेको निष्कर्ष निकालेको छ। सोमबार माओवादीको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरूको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निष्कर्ष निकालेको हो।

बैठकले त्यही दिन समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम भने शालीन र सशक्त भएको दाबी गरेको छ। साथै, समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षा सशक्त रूपमा भइरहेको देखाएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।


उनले राजावादीहरूको क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी गराए । समाजवादी मोर्चाले घटनामा संलग्न व्यक्ति र योजनाकारहरूलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। तीनकुने घटनामा भएको क्षतिको भरपाई सरकार स्वयंले योजनाकारहरूबाट असुल गरेर तिराउनुपर्ने निर्णय पनि बैठकमा गरिएको छ।


समाजवादी मोर्चाले जनतालाई जागरूक बनाई खतराप्रति सचेत गराउँदै परिचालन गर्ने योजना बनाउने निष्कर्ष निकालेको छ। नेपालका युवालाई सङ्गठित गरेर गणतन्त्रको रक्षकका रूपमा अघि सार्नुपर्ने निर्णय समेत गरेको छ।


विश्वकर्माले भने, ‘चैत्र १५ गते समाजवादीहरूको आन्दोलन शालीन र सशक्त रहेको प्रमाणित भएको छ। गणतन्त्रको रक्षा मजबुत रूपमा भइरहेको छ। यदि सोही दिन समाजवादी मोर्चाले विरोध सभा आयोजना नगरेको भए, प्रतिगामी तत्त्वहरूले कोटेश्वरमा देखाएको गैर जिम्मेवार गतिविधि झन् उग्र हुन सक्थ्यो। तिनको उद्देश्य देशमा अशान्ति मच्चाउने नै थियो। आन्दोलनको स्वरूप हेर्दा यो योजनाबद्ध, आततायी र जंगली चरित्रको देखिन्छ। यस्तो गतिविधिलाई नियन्त्रण गर्न १५ गतेको विरोध सभाले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।’


समाजवादी मोर्चाले हालको परिस्थितिमा विदेशी शक्तिहरूले कतै न कतै राजावादी आन्दोलनलाई समर्थन गरेको हुन सक्ने निष्कर्ष निकालेको छ। गणतन्त्रवादी राजनीतिक दलहरूको आइतबारको बैठकमा गणतन्त्रको रक्षा अनिवार्य छ, षड्यन्त्रको भण्डाफोर गरी दोषीलाई कारबाही गर्नुपर्छ भन्ने धारणा आएको थियो।


तर, समाजवादी मोर्चाले सरकारलाई यस घटनाको गम्भीर आकलन गर्न नसकेको आरोप लगाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully