काठमाडौँ — माओवादीले संविधान र गणतन्त्रको पक्षमा कांग्रेस र एमालेसँग साझा अवधारणा बनाउन तयार रहँदै सरकारलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गर्ने निर्णय गरेको छ। राजावादीहरूको गतिविधिले प्रमुख दलहरूलाई एक ठाउँमा उभिएर संघीय गणतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनेबारे छलफल गर्ने वातावरण सृजना गरेको सन्दर्भमा माओवादीले सरकारलाई खबरदारी जारी राख्ने निर्णय गरेको हो।
माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, 'सरकारले आठ महिनाको अवधिमा जनतालाई आशा जगाउन नसकेको कारण असन्तुष्टि बढ्दै गएको छ, र मौका छोपेर राजावादीहरू सक्रिय भएका छन्।'
राजावादीहरूको सक्रियताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वदलीय बैठक गर्ने अवस्थामा ल्याएको माओवादीको विश्लेषण छ। उनले थपे, 'जनताको पक्षमा काम नगर्दा प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्नुपर्ने अवस्था आयो। जनताको असन्तुष्टि व्यवस्थाप्रति होइन, सरकारको कुशासन र नालायकीप्रति रहेको स्पष्ट भयो। संघीय लोकतान्त्रिक व्यवस्थालाई समृद्ध बनाउन दलहरूबीच छलफल गरी साझा धारणा बनाउनु आवश्यक छ।'
माओवादीले ‘सबैले थाहा पाउने गरी सरकारका कामकाजी प्रक्रिया सतहमा आएको’ जनाएको छ। सरकार जनताको सेवाप्रवाह र सुशासनमा चुक्दै गएकाले खबरदारी गर्दै प्रतिगामी षड्यन्त्रको विरोध गर्दै जाने माओवादीको योजना छ। 'सरकार सच्चियो भने त्यही अनुसार व्यवहार गर्दै जान्छौं,' प्रवक्ता सापकोटाले भने, 'सरकारलाई खबरदारी गर्दै जानेछौं। अब यो प्रक्रिया जारी रहनेछ।'
समाजवादी मोर्चाको कार्यक्रमले राजावादीहरूको भ्रम चिर्न सफल भएको माओवादीको दाबी छ। चैत १५ मा एकै दिन समाजवादी मोर्चाको कार्यक्रमले सभ्य र भव्य सन्देश दिएको र व्यवस्थाप्रति प्रतिबद्धता बलियो रहेकोले यसलाई निरन्तरता दिने निर्णय माओवादीले गरेको छ। 'समाजवादी मोर्चाको कार्यक्रमले राजावादीहरूको भ्रम चिर्न सफल भएको छ,' माओवादीको निष्कर्ष छ, 'के हो समाजवादी मोर्चा, के हो राजावादी भन्ने कुरा स्पष्ट छ। काठमाडौंमा भएको सभाले बहुआयमिक सन्देश दिन सफल भएको छ।'
चैत १५ कै घटनाले पनि राजावादीहरू उदांगिएको प्रवक्ता सापकोटाको भनाइ छ । 'चैत १५ मा भएका दुई कार्यक्रमबाट जनता आफैंले तुलना गर्न पाए,' उनले थपे, 'अहिले गणतन्त्र मात्र होइन, समाजवादी गणतन्त्रका लागि आधार तयार गरियो।'
गणतन्त्रको रक्षा र विकासका लागि माओवादीले जनपरिचालन जारी राख्ने निर्णय गरेको छ। सरकारका कामकाजी आधारमा सरकारलाई खबरदारी र सहकार्य गर्ने निर्णय पनि माओवादीले गरेको छ।
माओवादीको तराई-मधेश जागरण अभियान चैत २० देखि बाँकेबाट पुन: सुरु हुने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले बाँकेबाट सुरु गर्ने निर्णय गरेको छ। झापाबाट फागुन १२ मा सुरु भएको अभियान चैत ८ मा स्थगित भएको थियो। अब बाँकेबाट सुरु गरेर महेन्द्रनगरमा पुगेर कार्यक्रम सक्ने माओवादीको तयारी छ। अभियानको समीक्षा गर्दै जनतासँग जोडिन महत्त्वपूर्ण भएको माओवादीको निष्कर्ष छ।
