काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् ।
सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक निकै पेचिलो विषय रहेको बताइन् ।
सबैले आशा र प्रतीक्षा गरेको विधेयक भएकाले सबै पक्षले समन्वय गरेर छिटो टुंग्याउनुपर्ने उनको धारणा छ।
उनले ३५ दिनको कार्ययोजना बनाएर उपसमितिले काम सुरु गरेकोमा खुशी प्रकट गरिन् । मन्त्री भट्टराईले भनिन्, ‘यो विधेयक असाध्यै पेचिलो छ। सबैले आशा गरेका छन्, कहिले आउँछ भनेर सबै प्रतीक्षारत छन्। त्यसैले हामीले ३५ दिनको कार्ययोजना बनाएर काम सुरु गरेका छौँ। जे विषय सहज छन्, त्यसलाई सम्बन्धित दफामा छलफल गरिरहेका छौँ। यसबारे सन्देश दिनु आवश्यक छ। जे विषयमा अझै संवाद आवश्यक छ, ती विषय कसरी सुरु गर्ने र सहजीकरण कहाँ-कहाँबाट गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्न म तयार छु।’
मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयबीच समन्वय गरी सहकार्यका साथ अघि बढ्नुपर्ने बताइन् ।
