‘शुक्रबार थेरापी गरेर फर्कंदै गर्दा सडकभरि मानिस र प्रहरी थिए । अचानक गोली चलेको आवाज आएपछि म तर्सिएर भागेँ । खुट्टाभरि रगत देखेपछि थाहा भो मलाई त गोली लागेको रहेछ ।’
काठमाडौँ — झापाकी ४० वर्षकी इन्द्रमाया लिम्बू ८ वर्षदेखि काठमाडौं बस्दै आएकी छिन । उनलाई कम्मर, ढाड, खुट्टा दुख्ने, पोल्ने र झम्झमाउने समस्या छ । त्यही कारण ४ महिनादेखि नियमित रूपमा बालकुमारीमा रहेको एचवान सेन्टरमा थेरापी गर्न पुग्छिन् । तर, शुक्रबारको दिनले उनको शरीर र परिवारमा थप पीडा दिएको छ ।
लिम्बूका अनुसार शुक्रबार थेरापी गरेर नरेफाँट रहेको कोठामा फर्किंदै गर्दा उनको देब्रे खुट्टामा गोलीको छर्रा लागेको थियो । ‘मेरो स्वास्थ्यमा समस्या छ । नियमित थेरापी गर्छु,’लिम्बूले भनिन्, ‘शुक्रबार थेरापी गरेर फर्कंदै गर्दा सडकभरि मानिस र प्रहरी थिए । अचानक गोली चलेको आवाज आएपछि म तर्सिएर भागेँ । खुट्टाभरि रगत देखेपछि थाहा भो मलाई त गोली लागेको रहेछ ।’
राजावादीको शुक्रबारको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली चलाउँदा उनको देब्रे खुटामा छर्रा लागेको हो । लिम्बूलाई त्यो दिन तीनकुने क्षेत्रमा प्रदर्शन हुँदैछ भन्ने जानकारी भए पनि त्यसबारे कुनै चासो थिएन । सिभिल अस्पतालमा उपचार सकेर उनको आजै डिस्चार्ज भएको छ।
उनका श्रीमान् गंगाबहादुर लिम्बू बिजुलीको काम गर्छन् । महिनाभर काम गरेको पैसाले परिवार चलाउन पनि मुस्किल हुन्छ । गंगाले भने ‘श्रीमतीको उपचार गर्न पनि पैसा नभएर सापटीमा चलाएको छु । हामी बिहान बेलुका काम गरेर खाने निर्दोष मानिसमाथि अन्याय भयो । हामी न्याय माग्न कहाँ जाने हो ?’ लिम्बू दम्पती १ छोरा र २ छोरीसहित बस्दै आएका छन् ।
