आफ्नो अभिव्यक्ति शैली सच्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Communication Minister's commitment to correct his style of expression

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको र आफ्नो जिब्रो सोझो रहेको र एग्रेसीप लोजिकमा विश्वास गर्ने शैली रहेको प्रष्ट्याए ।

उनले भने, 'एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ। मेरो जिब्रो सोझो छ। सिधा छ। घुमाउरो छैन। म फेरि एग्रेसीप लोजिकमा विश्वास गर्छु। शैलीका हिसाबले पनि। मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन। मेरो मनमा एक प्रतिशत पनि छैन। तर विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्बहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो। तपाईंहरू सबैले बोल्दा। मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिवद्धता जाहेर गर्दछु।'

मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरुलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो।

कान्तिपुर

Link copied successfully