काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणका क्रममा पर्यटन र संस्कृतिसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसदलाई जानकारी दिए। प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको उल्लेख गरे।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्नेछन्। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी पनि उनले दिए।
प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।
