पूर्वराजाको योजनामा भएको अपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पन्छिन खोजिरहेका छन् : पोखरेल

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

They are trying to get away with the heavy security personnel of the criminal activities planned by the former king: Pokharel

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार भएको हिंसात्मक आन्दोलनको जिम्मा सुरक्षाकर्मीलाई बोकाएर राजावादीहरु उम्किन नपाउने बताएका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै महासचिव पोखरेलले बंगलादेशको मोडलमा सत्तापलट गर्ने पूर्व राजाको योजना कार्यान्वयनका लागि ‘जनकमाण्डर’ तोकिएका प्रसाईंद्वारा भएका अपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेको आरोप लगाएका हुन् । 

उनले भनेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न 'जनकमाणडर' तोकिएका दुर्गा प्रसाईंद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

यस्तै राजावादी र पूर्व पञ्चहरुले सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका समर्थकलाई बोकाएर उम्किन खोजेको देखिए पनि जनताले नपत्याउने उनको टिप्पणी छ । आन्दोलनका नाममा भएको हिंसात्मक घटनालाई अहिले राजावादीहरुले निर्मल निवासको थ्रेटमा प्रहरी दमनको प्रतिरोध भने पनि सत्य जनताले बुझिसकेको पोखरेलले बताएका छन् । 

उनले अघि भनेका छन्, ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको 'थ्रेट'का सामु उनीहरु निरही देखिए र भन्न थाले 'प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले' । आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पञ्चहरुको नियती ।’

कान्तिपुर

Link copied successfully