काठमाडौँ — राजावादीद्वारा शुक्रबार गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धानका लागि नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा प्रमाण संकलनका लागि नागरिकसाग भएको तथ्यपरका सूचना फोटो, भिडियो वा कुनै पनि प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो ।
प्रहरीका अनुसार प्राप्त सूचना तथा सूचनाकर्ताको गोपनीयता सुरक्षित राखिने छ। प्रक्राउ परेकाहरु माथि प्रहरीले आज अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान बढाउदै छ ।
‘व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, चोरी/डकैती, लुटपाट, आगजनी र राजद्रोहको मुद्दामध्ये के आकर्षित हुन्छ भनेर अनुसन्धान हुँदै छ,’ प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, ‘जानीबुझी नै निजी तथा सरकारी सम्पत्तिको तोडफोड भएका छन । दुई जनाको ज्यान गएको छ । घटनामा संलग्नमाथि अनुसन्धान गरेर त्यस अनुरूप मुद्दा अघि बढाउँछौँ । सबै माथि अनुसन्धान हुन्छ । तपाईंसबैले सहयोग गरौं ।’
दुई जनाको ज्यान जाने गरी भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५१ जना प्रदर्शनकारीसहित १ सय २८ जना घाइते भएका थिए । प्रहरी परिसर काठमाडौंले हिंसात्मक प्रदर्शनमा निजी तथा सरकारी गरी १८ वटा भवन तोडफोड र आगजनी गरिएको जनाएको छ । जसमा तीनकुने, कोटेश्वर, नरेफााट, सुविधानगर, जडीबुटी, सुविधानगर, आलोकनगर र गौरीगाउा क्षेत्रका गरी साढे तीन दर्जन बढी पसल, संघसंस्था र कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा लुटपाट गर्नुका साथै विभिन्न १२ स्थानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
हिंसात्मक जत्थाले २५ वटा गाडीमा पूर्ण क्षति पुर्याउनुका साथै १४ वटा गाडीमा आंशिक क्षति पुर्याएको प्रहरीले जनाएको छ । उनीहरूले प्रहरीका ६ वटा गाडी पनि तोडफोड गरेका छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको परिसरभित्र मात्र १३ वटा गाडी पूर्ण रूपमा जलेका छन् भने ४ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पनि आगो लगाइएको थियो । त्यस्तै काठमाडौं महानगरको दुईवटा दमकलमा पनि ढुंगामुढा गरेर क्षति पुर्याइएको प्रहरीले जनाएको छ ।
तीनकुनेको सुनौलो बचत तथा सहकारीको भवनमा पनि राजावादीले आगजनी गर्दा पूर्ण रूपमा जलेर नष्ट भएको छ । उक्त भवनमा लागेको आगो सागैको अर्को घरमा समेत सल्किएर क्षति पुगेको छ । तीनकुने सुविधानगरको राज भवनमा रहेका ६ निजी संस्था, प्रभु कम्प्लेक्समा रहेका ३ निजी संस्था, एकीकृत समाजवादीको केन्द्री कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र र प्रहरीका ३ कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको छ ।
राजावादीले अञ्जली श्रेष्ठ, निराक श्रेष्ठ, मीरा न्यौपाने, नयनबहादुर पण्डित, सुधा पन्त, हृदय पराजुली, गणेशबहादुर ढकाल, सुदर्शन गोल्छालगायतको घरमा पनि ढुंगामुढा गरेका थिए ।
